सुर्खेत । सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले सांकेतिक भाषाको अभावका कारण आफुहरुले विभिन्न सेवा लिनबाट वञ्चित भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा भेरी बहिरा समाज संघ सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनिहरुले सांकेतिक भाषाको अभावका कारण आफुहरु हरेक सेवाबाट वञ्चित भएको बताएका हुन् ।
दोभाषे मार्फत पत्रकार सम्मेलन गरेका उनिहरुले सांकेतिक भाषाको अभावका कारण शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवाबाट वञ्चित हुन पुगेको बताउँदै सरकारले यस विषयलाई गम्भिरताका साथ लिनुपर्नेमा जोड दिएका छन् ।
भेरी बहिरा संघ सुर्खेतका अध्यक्ष नम्रता भारतीले विशेषगरी स्वास्थ्य क्षेत्रमा सुनुवाई सम्बन्धि अपाङ्गता भएका व्यक्तीहरुले समस्या र चुनौती भोग्नुपरेको भन्दै त्यसमा पनि महिलाहरु पिडित हुने गरेको बताउनुभयो ।
उहाले कर्णाली प्रदेश अस्पतालमा एकजना सांकेतिक भाषाबाट पनि सेवा दिने वतावरण तयार गरिदिन आग्रह गर्नुभयो ।
उहाले भेरी बहिरा संघले यस विषयमा धेरै ठाउँ पैरवी गर्न खोजेको भएपनि त्यहापनि भाषाकै अभावका कारण सुनुवाई नभएको बताउनुभयो ।
भेरी बहिरा संघका सदस्य अर्जुन नेपालीले पनि सांकेतिक भाषालाई सरकारले प्रथमिकता दिएर कार्यालयहरुबाट सेवा दिने वतावरण निर्माण गर्न माग गर्नुभयो ।
उहाले आफुहरुले सञ्चार गर्ने वातावरण नहुँदा धेरै समस्या भोगिरहेको भन्दै यी समस्या गुम्स्याउन बाध्य भएको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका जितलाल ढकालले बहिरा विद्यार्थीहरूले शिक्षामा पूर्ण पहुँच प्राप्त गर्न अझै पनि कठिनाइ भोगिरहेको भन्दै
धेरै शैक्षिक संस्थानहरूमा सांकेतिक भाषाको प्रयोगको अभाव रहेको बताउनुभयो ।
जसका कारण उनीहरूलाई अन्य विद्यार्थीहरूसँगै सिक्न र बुझ्न कठिन भइरहेकाले बहिरा व्यक्तिहरूको शैक्षिक स्तरमा असमानता निम्तिएको बताउनुभयो ।
नेपालमा सांकेतिक भाषाको औपचारिक मान्यता भए पनि यसको पर्याप्त विकास र अभ्यासमा चुनौतीहरू रहेको उहाको भनाई छ ।
धेरै सरकारी तथा निजी क्षेत्रहरूमा सांकेतिक भाषा अनुवादकहरूको कमी रहेको भन्दै ढकालले बहिरा व्यक्तिहरूलाई सार्वजनिक सेवा प्राप्त गर्न कठिन बनाएको बताउनुभयो ।
स्वास्थ्य सेवामा पहुँचः, रोजगारी र आर्थिक अवसरहरू नपाउनु लगायतका समस्या सुनुवाई सम्बन्धि अपाङ्गता भएका व्यक्तीहरुले भोगेको र यसको प्रमुख कारण सांकेतिक भाषालाई मान्यता नदिनु रहेको उहाको भनाई छ ।
नेपालको संविधान २०७२ मा बहिरा व्यक्तिहरूले सांकेतिक भाषामा सिक्न, शिक्षा लिन र संचार गर्न पाउने हक सुनिश्चित गरिएको भएपनि राज्यले यो भाषाको विकास, उपयोग र प्रसारमा जति काम गर्नुपर्ने हो त्यति गर्न सकेको छैन ।
यसैबिच, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा सुर्खेत वीरेन्द्रनगरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।
भेरी बहिरा संघको आयोजनामा भोली (आइतबार) मंगलगढी चोकबाट ¥यालीको आयोजना गरिएको र विभिन्न सरोकारवाला व्यक्तीहरुसँग समेत छलफल कार्यक्रम गरिने जनाइएको छ ।
बहिरा संघले सांकेतिक भाषामा पहिलो पटक पत्रकार सम्मेलन गरेको समेत जनाएको छ ।
२०७८ जनगणना अनुसार कर्णालीमा वहिरा अपाङ्गता ४ हजार ८ सय ९ जना सुस्तश्रवण ४ हजार २४ र श्रवण दृष्टिवहिन ८ सय २२ गरी जम्मा ९ हजार ६ सय ५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्ने गरेको तथ्याङ्क छ ।
सन २०१७ डिसेम्बर १९ मा संयुक्त राष्ट्र संघले सन् २०१८ मा शुरु हुने गरि हरेको वर्ष सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
कार्यालयहरुमा सांकेतिक भाषाको अभाव: बहिरा व्यक्तिहरूलाइ सेवा लिन असहज
कार्यालयहरुमा सांकेतिक भाषाको अभाव: बहिरा व्यक्तिहरूलाइ सेवा लिन असहज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु