सुर्खेत । मनोसामाजिक अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी बनाइएका विभेदकारी कानुनहरु हटाउन माग गरिएको छ ।
मानासिक स्वास्थ्य तथा मनोसामाजिक अपांगताको क्षेत्रमा काम गर्दै आएको कोशिश नामक संस्थाले विभेदकारी कानुन हटाउन माग गरेको हो ।
सुर्खेतमा एक कार्यक्रम गरी मनोसामाजिक अपांगता भएका व्यक्तिहरुको नागरिक, आर्थिक, सामाजिक अधिकार हनन् भएको भन्दै त्यस्ता विभेदकारी कानुनहरु हटाइ उनीहरुको अधिकारको ग्यारेन्टी गरिनुपर्ने भनिएको छ ।
मनोसामाजिक अपांगता भएका व्यक्तिहरुको आर्थिक अधिकार अन्तर्गत जागीर खान बन्देज लगाउने २० वटा ऐन भएको, निर्देशक बन्न बन्देज लगाउने १५ वटा ऐन भएको, कर्मचारीहरुको पद रिक्त हुने व्यवस्थाका १३ वटा ऐन भएकोले ती कानुन हटाउनुपर्ने जनाइएको छ ।
कोशिश नेपालका परियोजना अधिकृत सूर्यप्रसाद भट्टराईले सवै तहको निर्वाचनमा उम्मेदवार बन्न अयोग्य बनाइने ६ वटा ऐन, पद रिक्त हुने अवस्थाको तीन वटा ऐन, मनोनयन पत्र रद्द हुने दुई वटा ऐनले मनोसामाजिक अपांगता भएका व्यक्तिहरुको आर्थिक अधिकार खोसेको बताउनुभयो ।
यस्तै ६२ वटा ऐनमा अपमानजनक शव्दावलको प्रयोग भएको जानकारी दिदैं त्यस्ता शव्दहरु हटाइ सम्मानजकन शव्दहरु राख्नुपर्ने उहाँको भनाइ छ ।
२२ वटा ऐनमा मानसिक रोग वा मानसिक विकार लेखिएको, २८ वटा ऐनमा होश ठेगानमा नभएको लेखिएको, चार वटा ऐनमा मानसिक सन्तुलन गुमाएको लेखिएको, तीन वटा ऐनमा मगज बिग्रेको लेखिएको, दुई वटा ऐनमा मानसिक रुपले असमर्थ लेखिएको र तीन वटा ऐनमा पागल लेखिएको उहाँले जनाउनुभयो । मनोसामाजिक अपांगता कुनै रोग नभएको भन्दै उहाँले सामाजिक अवरोधले गर्दा भयावह बनाइएको उहाँले बताउनुभयो ।
सरकारले त्यस्ता विभेदकारी ऐन कानुहरु सच्याउनुपर्ने, सम्मानजनक शव्दहरु प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यको समस्या भएका व्यक्तिहरुलाई लक्षित गरिएका विभेदकारी ऐन र शव्दहरु नै खारेज गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले अव मर्यादित शब्दहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिदैं यदि उनीहरुले पनि गल्ती गरेमा सजायको भागिदार बनाउनुपर्ने बताउनुभयो ।
मनोसामाजिक समस्या रोग होइन यो मनको समस्या भएकोले नियमित औषधि सेवन गरे निको भइ समाजमा पुनस्र्थापित गराउन सकिने उहाँको भनाइ छ । साथै यससम्वन्धीको पढाईले सहज र सर्वसुलभ गराउनुपर्ने उहाँको भनाइ छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडामा मनोसामाजिक अपांगता भएका व्यक्तिहरुको सवालमा कोशिशले काम गरिरहेको छ ।
कोशिशका मनोविज्ञ नरेन्द्र नेपालीले वीरेन्द्रनगरमा १३१ जनालाई मनोविमर्श सेवा लिइरहेको जानकारी दिनुभयो ।
यस्तै १६ वटा वडालाई ६ वटा क्लष्टरमा बाँडेर पैरवी समूह निर्माण गरी कानुनीलगायतका कुराहरुमा बहस गरिएको, घरभेट कार्यक्रम गरी औषधि प्रयोगलाई व्यवस्थित बनाइएको जानकारी उहाँले दिनुभयो । साथै मनोसामाजिक अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र बनाउन, आयआर्जनमा सरिक बनाउने काम पनि भइरहेको छ ।
मनोसामाजिक सेवा लिइका वीरेन्द्रनगरका हिरालाल सुनार र पार्वती विश्वकर्माले अपमान महसुस हुने शब्द र ऐनहरु परिमार्जन गर्न आग्रह गर्नुभएको छ । साथै उहाँहरुले संचार जगत लगायत अन्य पक्षलाई सम्मानित शव्दहरु प्रयोग गरी मनोसामाजिक अपांगता भएका व्यक्तिहरुलाई हौसला बढाउन सुझाव दिनुभएको छ ।
कर्णाली प्रदेशमा २.८ प्रतित मनोसामाजिक अपांगता भएका व्यक्तिहरु रहेको जनाइएको छ ।
कर्णालीको कूल जनसंख्या १६ लाख ८८ हजार मध्ये अपांगता भएकाहरुको जनसंख्या ५२ हजार ६०४ र त्यसमा मनोसामाजिक अपांगता भएका व्यक्तिहरुको संख्या १४ सय ५८ जना अर्थात २.८ प्रतिशत रहेको तथ्यांक कोशिश नेपालसँग रहेको छ ।
मनोसामाजिक अपांगता भएका व्यक्तिहरु लक्षित विभेदकारी कानुनहरु हटाउन माग
मनोसामाजिक अपांगता भएका व्यक्तिहरु लक्षित विभेदकारी कानुनहरु हटाउन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु