सुर्खेत, २४ कात्तिकः
दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको झ्याजे गाउँका किसानहरुले तरकारी बेचेर लाखौँको आम्दानी गर्ने गरेका छन् ।
नौँ घर रहेको यो गाउँका किसानहरुको मुख्य आम्दानीको श्रोत नै तरकारी खेती हो । तरकारी बेचेरै यो गाउँका किसानले घरखर्च टार्दै आएका छन् । व्यवसायिक रुपमा तरकारी खेती गरेर यो गाउँले बर्सेनी लाखौं रुपैयाँ आम्दानी गरेका छन् । तर यहाँका किसान भने राज्यको सेवा र सुविधाबाट बञ्चित छन् । किसानका नाममा गैरकिसानले रजाइँ गरिरहँदा वास्तविक किसानले भने हालसम्म सरकारी सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।
उत्पादन भएको तरकारीलाई बजारसम्म लैजान समस्या रहेको किसानहरुको गुनासो छ ।
झ्याजे गाउँमा विशेषगरी आलु, बन्दा, काउली, टमाटर, खुर्सानी र काँक्रा उत्पादन हुन्छ । सिजनमा उत्पादन भएको तरकारी ढुवानीमा किसानले हैरानी भोग्दै आइरहेका छन् । स्थानीय तहलाई बारम्बार सडकका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको किसानको गुनासो छ । सडक नहुँदा तरकारी बोक्नुपर्ने बाध्यताले आफूहरु हैरान भएको किसानको दुखेसो छ ।
स्थानीय किसान पवित्रा खड्काले तरकारी उत्पादन गरेपनि बजारसम्म लैजान समस्या भएको बताउनुहुन्छ । “सरकार त किसानका लागि कहाँ छ र ?” उहाले भन्नुभयो्, “हामीलाई त राज्यले आजसम्म देखेकै छैन, हामीले आफ्नै मेहनतले तरकारी फलाएका छौं । राज्यबाट हामीले आजसम्म कुनै अनुदान र सुविधा पाउन सकेका छैनौं, हाम्रो पीडा कसैले सुनेनन् ।”
सरकारी तथा गैरसरकारी निकायले किसानका लागि अनुदान र सुविधा दिने गरेको सुनेको भन्दै आफूहरुले हालसम्म केही नपाएको उहाको भनाइ छ । उहाले भन्नुभयो, “स्थानीय र प्रदेश सरकार नजिकै छन्, तर गाउँसम्म सडक ल्याइदेऊ भन्दा सुन्दैनन् । सडकको सुविधा मात्र भएको भए गाउँमा अहिलेको भन्दा दोब्बर तरकारी उत्पादन हुन्थ्यो, ढुवानीमा समस्या हुने भएकाले पनि हामीले चाहेजति खेती गर्न सकिरहेका छैनौं ।”
स्थानीय किसान कृष्ण खत्रीले पनि यो बर्ष आफुले ५० क्वीन्टल तरकारी बेचेको बताउनुहुन्छ । तर ढुवानी समस्याले आफुलाई पिडित बनाएको भन्दै राज्यले कुनै वास्था नगरेको गुनासो उहाको छ ।
“यो बर्ष मैले २० क्वीन्टल आलु, १५ क्वीन्टल बन्दा र काउली बेँचे । तर हामीलाई तरकारी बिक्री गर्न समस्या छ, गाउँसम्म गाडी नचल्दा बोकेरै बजार लैजानुपर्ने समस्या छ ।” पाखापानीबाट गाउँसम्म सडक खनिएको छ । तर त्यो सडक पनि सुधार हुन सकेको छैन । अर्कोतर्फ आफूहरुले करिब तीन किलोमिटरसम्म तरकारी बोक्नुपर्ने बाध्यता रहेको र बोक्न नसक्दा तरकारी कुहिएर खेर जाने गरेको खत्रीले बताउनुभयो ।
छैन सरकारी सुविधा
यो गाउँका किसानले बर्षायाममा तरकारी खेती गर्छन् । हिउँदको समयमा भने गहुँ र तोरी खेती हुन्छ । यहाँका किसानले व्यवसायिक तरकारी खेती गरेर बर्षमा ७० लाख मूल्य बराबरको तरकारी निर्यात गरिरेहका छन् । तर हालसम्म यहाँका किसानले सरकारी अनुदान र सुविधा पाउन सकेका छैनन् । न त कुनै गैरसरकारी निकायले नै यहाँका किसानका लागि उन्नत बीउ, तालिम र औजार उपलब्ध गराएका छन् । यसकारण पनि आफूहरु राज्यबाट उपेक्षित भइरहेको किसानको गुनासो छ ।
“१५ बर्षदेखि आलुको बीउ उही छ, स्थानीय किसान ताराकेशर वलीले भन्नु्भयो, “उन्नत जातको बीउ पाएको भए धेरै फल्थ्यो, तर हामीले कहाँबाट ल्याउने ? सरकारले सहयोग गरेको भए हामीले उत्पादन अझैं बढाउने थियौं, तर सरकारले हाम्रो समस्या देख्दैन ।”
पछिल्लो समय तरकारीमा नयाँ रोगहरु देखिन थालेको भन्दै उनले रोग र किराबारे आफूहरुलाई जानकारी नहुँदा उत्पादन घट्न थालेको बताउनुभयो ।
स्थानीय सरकार र वडाले कृषि प्राविधिक र कृषि औजारमा पनि सहयोग नगरको उहाको भनाइ छ । आलुको बीउ जोगाउन हम्मेहम्मे हुने गरेको भन्दै उहाले सरकारले गाउँमा आलुको बीउ जोगाउने गरी भण्डारगृह निर्माणमा सहयोग गरिदिनुपर्ने उहाको माग छ । उत्पादन भएको तरकारीको बजारिकरणमा पनि सरकारले सहयोग नगर्दा बिचौलियाले फाइदा लिइरहेको किसानको भनाइ छ ।
स्थानीय किसानले गाउँमै कृषक समूह पनि गठन गरेका छन् । समूहमार्फत विभिन्न निकायमा अनुदान, उन्नत बीउ र अन्य सुविधा माग गरिएको किसानको भनाइ छ । तर पनि आफुहरुले हालसम्म कुनैपनि अनुदान र सुविधा नपाएको उनीहरुको गुनासो छ ।
स्थानीय किसान मनकुमारी खड्काले भन्नुभयो, “किसानलाई सरकारले अनुदान दिन्छ भन्ने सुनेका छौं, तर हामीलाई आजसम्म कसैले दिएका छैनन् । न कतैबाट उन्नत बीउ र औषधि नै पाएका छौं, न त कसैले हामीलाई तालिम नै दिएका छन् ।”
गाउँमा हालसम्म गैरसरकारी संस्थाहरु पनि नआएको र तरकारी खेतीका लागि कुनै सुविधा पनि पाउन नसकेको उहाको भनाइ छ ।
व्यवसायिक खेतीका लागि अनुदान, उन्नत बीउ, मल, औषधि, तालिम र कृषि औजारहरु पाउन सकेमा गाउँमा तरकारी खेती थप फस्टाउने किसानले बताउनुभयो ।
बर्सेनी ७० लाखको तरकारी निर्यात
झ्याँझे गाउँमा तरकारीका लागि उपयुक्त हावापानी छ । जसले गर्दा आलु, बन्दा, काउली र टमाटार उत्पादन हुन्छ । तरकारीबाट नगद आम्दानी हुने भएपछि हिजोआज किसानले अन्नबालीको खेती घटाउँदै लगेका छन् । ढुवानीको समस्या भएपनि किसानले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका हुन् । गाउँमा जम्मा नौ घर छन् । तर यो गाउँबाट बर्षमा ७० लाख मूल्य बराबरको तरकारी निर्यात हुन्छ ।
स्थानीय किसानले बर्षमा ३० लाख मूल्यको आलु बिक्री गर्दछन् । यस्तै बन्दा पनि २० लाख बराबरको निर्यात भइरहेको छ । यस्तै काउली १५ लाख बराबरको निर्यात हुन्छ । टमाटर, खुर्सानी र काँक्रा गरेर ५ लाख बराबरको निर्यात हुन्छ । स्थानीय किसान गगनबहादुर खत्रीले भन्नुभयो, “यो बर्ष गाउँबाट आलुमात्र चारसय क्वीन्टल निर्यात भयो, बन्दा र काउली पनि यही अनुपातमा बिक्री हुन्छ । तरकारी बेचेरै बर्षमा यो गाउँले ७० लाख रुपैयाँ भित्राउने गरेको छ, सडकको सुविधा भएको भए उत्पादन अझै बढ्थ्यो ।”
यो बर्ष आफुले तीन लाख मूल्यको आलु बिक्री गरेको उहाको भनाइ छ । यस्तै बन्दा र काउलीबाट बर्षमा दुई लाख आम्दानी हुने गरेको उनले सुनाउनुभयो । उत्पादन भएको तरकारी ढुवानी गर्न समस्या हुने भएकाले आफूहरुले सम्भावना भएर पनि कमै मात्र खेती गरिरहेको उहाको भनाइ छ ।
नौ परिवारले मात्र ७० लाखको तरकारी उत्पादन गरिरहेको भन्दै उहाले सरकारले भने आफूहरुलाई वेवास्ता गरेको गुनासो गर्नुभयो ।
किसानले उत्पादन गरेपनि मूल्य भने पाउन सकेका छैनन् । यसपाली आलु ४० रुपैयाँ किलोमा बेच्नु परेको किसानको गुनासो छ । बिचौलियाले फाइदा खाने गरेको भन्दै किसानले ढुवानीमा सहयोग गर्न सरकारसँग माग गरेका छन् । बजारसम्म लैजान सहज भएमा आफूहरुले तरकारीको उचित मूल्य पाउने उनीहरुको विस्वास छ ।
तर बोकेरै बजारसम्म लैजानुपर्ने बाध्यताका कारण आफूहरुले तरकारी कुहिने डरले सस्तो मुल्यमा बेच्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।
यहाँ उत्पादन भएको तरकारी सुर्खेत र दैलेख बजारसम्म निर्यात हुने गरेको छ । गाउँसम्म सडक, उन्नत बीउ, मल, बजारिकरण, तालिम र कृषि औजारमा सहयोग पाए गाउँमा थप तरकारी उत्पादन बृद्धि हुने र आफूहरुको आम्दानी पनि बढ्ने किसानको भनाइ छ ।
व्यवसायिक तरकारी खेतीबाट लाखौको आम्दानीः ढुवानीमा समस्या भएको किसानको गुनासो
व्यवसायिक तरकारी खेतीबाट लाखौको आम्दानीः ढुवानीमा समस्या भएको किसानको गुनासो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु