सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिताका खेलहरु सकिएका छन् ।
आयोजक कर्णाली खेलकुद विकास परिषद्का अनुसार कर्णालीमा पहिलोपटक हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि असोज २६ गतेदेखि शुरु भएको खेलाडी छनोट प्रतियोगिताका खेलहरु आज शनिबारदेखि सकिएका हुन् ।
३२ खेलहरुमध्य १७ वटा खेलहरुमा छनोट प्रतियोगिता गराइएको थियो । बाँकी १५ खेलका खेलाडीहरुलाई सिधै छनोट गरिने कर्णाली खेलकुद विकास परिषद् सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार हक्की, स्वीमिङ, कुस्ती, भारतोलन लगायत १५ वटा खेलका खेलाडीहरु सिधै छनोट गरिने छ ।
छनोट प्रतियोगिताका खेलहरु प्रदेशका विभिन्न जिल्लाहरुमा खेलाइएको थियो । जसअन्तरगत सबैभन्दा धेरै खेलहरु सुर्खेतमा खेलाइएको थियो । सुर्खेतमा पूरुष महिलातर्फका फुटबल, क्रिकेट, व्याडमिण्टन, उसु, आइटिएफ तेकवान्दो, एथलेटिक्स, बक्सिङका खेल खेलाइएको थियो ।
यस्तै, दैलेखमा कराँते, हेण्डबल, फुल कन्ट्याक कराते खेलको प्रतियोगिता गराइएको सदस्य सचिव चन्दले जानकारी दिनुभयो ।
यस्तै, मुगुमा पुुरुष कबड्डी, हुम्लामा महिला भलिबल, जुम्लामा तोकवान्दो, कालिकोटमा पुरुष भलिबल, डोल्पामा चेस, रुकुम पश्मि महिला कबड्डी र सल्यानमा टेबल टेनिसको छनोट खेल खेलाइएको थियो ।
प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुको क्रम मिलाउने कार्य भइरहेकाले कति छनोट खेलाडीहरुको लिष्ट कात्तिक १ गते सार्बजनिक गरिने सदस्य सचिव चन्दले बताउनुभयो ।
कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको खेलका लागि तयारी तिव्र बनाउँदै लगिएको छ । खेल आगामी मंसिर १६ गते २७ गतेसम्म संचालन हुँदै छ ।

