सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीबाट उसुतर्फका खेलाडी छनोट भएका छन् । आगामी मंसिरमा कर्णालीमा आयोजना हुने उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि उसुका २३ जना खेलाडी छनोट भएका हुन् । बिहीबारबाट तीन दिनसम्म वीरेन्द्रनरमा संचालन भएको छनोट प्रतियोगिता शनिबार सम्पन्न भयो । उक्त प्रतियोगिताबाट कर्णालीको तर्फबाट राष्ट्रिय खेलकुदका लागि खेल्ने खेलाडीहरु छनोट गरिएको छ ।
कर्णाली प्रदेश उसु संघका अनुसार सान्दातर्फ १५ जना र थाउलुतर्फ ८ जना गरी २३ जना खेलाडी छनोट भएका छन् । जसमा १३ जना पुरुष र १० जना महिला खेलाडी छन् । उसु संघका प्रदेश अध्यक्ष गोविन्दबहादुर शाहीले छनोट प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक सुर्खेतले जितेको जानकारी दिए । उनका अनुसार सुर्खेतले सबैभन्दा धेरै १४ वटा स्वर्णपदक जितेको छ । छनोट प्रतियोगितामा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र सल्यानका ६५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
जसमा कालीकोटले ३, जाजरकोटले २, दैलेखले १, डोल्पाले १, हुम्लाले १ र जुम्लाले १ वटा स्वर्णपदक जितेका छन् । आगामी मंसिर १६ देखी २७ गतेसम्म कर्णालीमा आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरु छनोट भएसँगै अब उनीहरुलाई बन्द प्रशिक्षणमा राखिने छ । उसु संघका प्रदेश अध्यक्ष शाहीले भने,‘हामीले राष्ट्रिय खेलकुदका लागि २३ जना खेलाडी छनोट गरेका छौं, यी छनोट भएका खेलाडीले नै कर्णालीको तर्फबाट उसुमा प्रतिस्पर्धा गर्नेछन् । अब छनोट भएका खेलाडीलाई अभ्यास गराउने छौं, उसुमा राम्रो रिजल्ट निकाल्ने हाम्रो प्रयास हुनेछ ।’ उनका अनुसार छनोट भएका खेलाडीलाई कार्तिक १० गतेबाट एक महिनासम्म बन्द प्रशिक्षणमा राखिनेछ ।
उसुको प्रदेश स्तरीय छनोट प्रतियोगिताको शनिबार समापन गर्र्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले छनोट भएका खेलाडीलाई अब अभ्यासमा जुट्न आग्रह गरे । दशैं विदामा पनि अभ्यासमा जुट्न आग्रह गर्दै उनले खेलाडीलाई पदक जित्नेगरी तयारी थाल्न सुझाव दिए । खेलाडीको अभ्यास र लगावले राष्ट्रिय खेलकुदमा कर्णालीले उत्कृष्ट नतिजा हात पार्ने उनको विश्वास छ । सोही अवसरमा सदस्यसचिव चन्दले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए । छनोट प्रतियोगिता संचालन गर्नका लागि २० जना रेफ्री खटिएका थिए ।
दशौं राष्ट्रिय खेलकुदका लागि उसुतर्फ २३ खेलाडी छनोट
दशौं राष्ट्रिय खेलकुदका लागि उसुतर्फ २३ खेलाडी छनोट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
