सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा ‘वातावरण खाद्य उद्योग’ सञ्चालनमा ल्याएको छ ।
वीरेन्द्रनगरको औद्योगिक क्षेत्रभित्र संचालनमा ल्याइएको खाद्य उद्योगको आज (शनिबार) एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।
आधुनिक प्रविधिमा आधारित खाद्य उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रमा उत्पादन हुने रैथाने खाद्य वस्तुको संकलन, प्रशोधन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्योगमा कुटानी–पिसानीलगायतका काम हुने जनाइएको छ । सहकारी संस्थाले ग्रामीण क्षेत्रमा उत्पादन हुने रैथाने खाद्य वस्तु संकलन गरी प्रशोधन तथा उत्पादनमा वृद्धि गर्न सघाउ पुग्ने वातावरण सुधार वहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक श्याम न्यौपानेले जानकारी दिनुभयो ।
उद्योग निर्माणका लागि हालसम्म करिब एक करोड २५ लाख रुपैयाँ लगानी गरिएको छ । उद्योगको क्षमता विस्तार तथा थप पूर्वाधार निर्माणका लागि आगामी दिनमा थप दुई करोड रुपैयाँ लगानी गर्ने योजना रहेको उहाले बताउनुभयो ।
उद्योगको उद्घाटन गर्दै संस्थाका सल्लाहकार कमलराज रेग्मीले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै त्यसको प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईले स्थानीयस्तरमा उत्पादन हुने रैथाने खाद्य वस्तुलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य उद्योग सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।
उद्योग सञ्चालनमा आएपछि स्थानीय उत्पादनको उपयोग बढ्नुका साथै किसानको उत्पादनले बजार पाउने र ग्रामीण अर्थतन्त्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
खासगरी श्यर सदस्यहरुले उत्पादन गरेका ग्रामीण रैथाने बालीहरुको उपयोग बढाइने जनाइएको छ ।

