टेकराज केसी ।
सुर्खेत, २२ असार । असार ७ गते हामी सुर्खेतको वीरेन्द्रनगरबाट पश्चिमको यात्रामा हिँड्यौँ । हामी पाँच जना थियौँ । त्यो यात्राको क्रममा हामी बाङ्गेसिमलभन्दा अलि परपट्टि गएका थियौँ । थाकल र सालघारी बीचमा हामीबीच एउटा विषयमा कुराकानी चल्यो । ‘बड्डीचौरमा विद्यार्थीहरू पढ्दै कमाउँदै गर्छन् रे !’ त्यही प्रसङ्गमा कुराकानी चल्ने क्रममा जनज्योति माविमा पढ्दै कमाउँदै गरिन्छ भनेर एक जना साथीले भन्नुभयो । मैले भने यही कार्यक्रमलाई अहिले सङ्घीय सरकारले आफ्नो बजेटमै राखेको छ त ? अर्का एक जना साथीको त्यस विद्यालयका प्रधानाध्यापकसँग राम्रो चिनजान रहेछ । उहाँले भन्नुभयो, ‘यो सबै प्रधानाध्यापक नारायण सिग्देलको योगदान हो ।’ कुरा हुँदै थियो हामी रानीघाट पुलभन्दा अलि पर गइसकेका थियौँ । हाम्रो साथमा सुर्खेतका समाजसेवी पूर्णप्रसाद पौडेल पनि हुनुहुन्थ्यो । उहाँले बीचमा सुनद्वारी गाउँको कुरा निकाल्नुभयो । हामीलाई यस गाउँको बारेमा जानकारी थिएन । उहाँ पहिले पनि त्यतातिर जाँदा त्यो गाउँमा बस्नुभएको रहेछ । उहाँले त्यो गाउँका केही विशेषता भनेपछि हामीलाई कौतुहल जाग्यो । त्यो गाउँमा एकपटक जानुपर्छ भनेर बाटोमै निर्णय ग¥यौँ । हामी सोतखोला पुगिसकेका थियौँ । अब केही किलोमिटर मात्र बाँकी थियो । हामी त्यहाँ पुग्यौँ । त्यो गाउँ वडा नम्बर ५ मा पर्दो रहेछ । हामी गाडीबाट ओर्लियौँ । त्यहाँका वडाध्यक्ष तिलकबहादुर मर्साङ्गी मगरको साथमा त्यो गाउँको अवलोकन गर्न गयौँ । कसरी रह्यो सुनद्वारी नाम वडाध्यक्ष मर्साङ्गीका अनुसार लेखबाट बेसी झर्ने क्रममा एउटा द्वार पर्छ । त्यो द्वारबाट अलिकति तलतिर झरेपछि मिलेको मलिलो जमिन थियो । त्यो जमिनमा लेखबाट मानिसहरू आएर खेतिपाती गर्न थाले । जसबाट मनग्य आम्दानी हुन थाल्यो । अनि धेरै मानिसहरूले बहुमूल्य सुनजस्तै जग्गाको रूपमा लिन थाले अनि यो गाउँलाई सुनजस्तै महँगो सुनद्वारी गाउँ भन्न थालियो । सुनद्वारी गाउँका मानिसहरू कोही पनि बेरोजगार छैनन् । यो गाउँ सुर्खेत वराहाताल गाउँपालिका–५ बड्डीचौरमा पर्दछ । गाउँ नै आत्मनिर्भर ८३ घरधुरी रहेको यस गाउँमा ३० जना कृषक मिलेर सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह सञ्चालनमा ल्याएका छन् । गत आर्थिक वर्ष प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो समूहलाई ६० वटा भैँसी वितरण ग¥यो । समूहमा आबद्ध कृषकले कम्तीमा तीनदेखि आठ वटासम्म भैँसीपालन गरेका छन् । गाउँमै दूध सङ्कलन केन्द्र छ । दैनिक सात सय लिटरभन्दा बढी दूध सङ्कलन हुने गर्दछ । बजारको समस्या छैन । यहाँको दूध स्थानीय बड्डीचौर बजारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरसम्म पुग्ने गरेको कृषकको भनाइ छ । ताजा तरकारी र दुग्ध पदार्थ उत्पादनका हिसाबले गाउँपालिकाकै नमुना गाउँका रूपमा सुनद्वारीले आफ्नो पहिचान बनाएको छ । समूहमा मात्र होइन प्रत्येक घरमा भैँसी छन् भने तरकारी, फलपूmल उत्पादन गरेर यहाँका मानिस आत्मनिर्भर छन् । एक जनाले सरदर २५ हजारदेखि ३० हजारसम्म कमाइ गर्ने गरेका छन् । यो गाउँमा कोही पनि बेरोजगार छैनन् । पर्यटककका लागि आकर्षक गाउँपालिकाको नमुना गाउँको रूपमा रहेको सुनद्वारी गाउँ पर्यटकीय हिसाबले समेत उत्कृष्ट छ । माथिपट्टि पहाड फाँटमा नजिकनजिक रहेका गाउँ । गाउँको माथिबाट हेर्दा साँच्चिकै सुनको टुक्राजस्तो देखिन्छ गाउँ । तरकारी तथा अन्य खेतीको हरियालीले मनै लोभ्याउँछ । त्यही भएर होला प्रदेश र स्थानीय सरकारले यो गाउँलाई धेरै महत्व दिएका छन् । अहिले गाउँवरपर छुनेगरी रिङ्गरोड बनाइएको र सुनद्वारी होमस्टेसमेत सञ्चालनका लागि अन्तिम चरणमा पुगेको वडाध्यक्ष मर्साङ्गी बताउँछन् । उनले भने, ‘मेरो वडाका सबैभन्दा आत्मनिर्भर मिहिनेती बस्ने गाउँ हो यो, मैले यो गाउँलाई नमुना गाउँ बनाउनका लागि सडक, सिँचाइ, खानेपानीको बन्दोबस्तो गरेको छु । यो गाउँमा कोही पनि गरिबीको रेखामुनि छैन । हामी पर्यटकको आकर्षण बढाउन रारालगायतका ठाउँमा जाने पाहुनालाई अर्गानिक खाना खुवाउन चाहन्छौँ, एकदिन बास बसाल्न चाहन्छाँै । त्यसका लागि होमस्टे सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ ।’ कृषिमा आधुनिकीकरण प्रत्येक घरमा दुईभन्दा बढी भैँसी छन् । यो गाउँका मानिसले गर्ने मुख्य आम्दानीको स्रोतमध्ये भैँसीपालन र तरकारी खेती हो । सुनद्वारीका कृषकहरूले गाउँमा गरिने कृषिमा यान्त्रीकरण गर्ने पनि थप प्रयास थालेका छन् । गाउँका केही कृषकले सरकारी अनुदानमा समेत भैँसी पालेका हुन् । ‘गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयास भइरहेको छ,’ वडाध्यक्ष मर्साङ्गीले भने । त्यसका लागि विभिन्न नयाँ प्रविधिहरू ल्याइएको छ र अन्य प्रविधि पनि ल्याउने तयारी भइरहेको छ । गोरुले गर्ने काम मेसिनले गर्ने र गोरु पाल्नुको सट्टा भैँसी पाल्दा छोटो समयमा धेरै आम्दानी लिन सकिने उनको भनाइ छ । प्रशस्त पशुपालनबाट मलको अभाव भोग्नु नपरेको यहाँका कृषक बताउँछन् । गोरुको ठाउँमा भैँसी पाल्दा मलको अभाव भोग्नु नपरेको र कृषि उत्पादनमा वृद्धि भएको हो । सुनद्वारी गाउँका कृषकले थालेको अभियानले अन्य कृषकलाई पनि प्रेरणा मिलेको छ । गाउँमा धेरै कृषक आत्मनिर्भर भइरहँदा त्यही ठाउँमा रहेको जनज्योति माविमा समेत कृषि र पशुपालनसम्बन्धी शिक्षा दिइन्छ । विद्यार्थीहरू पढ्दै कमाउँदै गर्छन् । यसले पनि सुर्खेत पश्चिम क्षेत्रलाई आत्मनिर्भर बनाउँदै छ । यसबाट अन्य ठाउँका कृषकहरूले पनि सिकेर स्वदेशमै आत्मनिर्भर हुन सिक्नुपर्ने देखिन्छ ।
सुनजस्तै बहुमूल्य सुनद्वारी गाउँ
सुनजस्तै बहुमूल्य सुनद्वारी गाउँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु