सुर्खेत । असोज २४ गते शुक्रबार राती सुर्खेत लेकवेसी नगरपालिकाकाका एकजना युवा मदिरा सेवन गरी राती १२ बजे राउटे वस्ती छिरे । उनले वस्तीमा पुगेर अवाञ्छित व्यवहार देखाउन थाले । होहल्ला गर्न थालेपछि राउटे समुदायमा त्रास फैलियो । अन्य मानिसभन्दा जंगलमा अलग्गै बस्ने राउटे समुदायमा त्रास सिर्जना गर्ने ति युवालाई राउटे समुदायका युवाहरुले नियन्त्रणमा राखे । शनिबार बिहान उनिहरुले नजिकैको प्रहरीलाई खबर गरी ति युवालाई प्रहरीको जिम्मा लगाए । अहिले उनि प्रहरीको नियन्त्रणमा छन् । उनलाई प्रक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
यो एउटा प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय बाह्य व्यक्तीहरुको जथाभावी प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका छन् । आफ्नै रितिरिवाज र भेषभुषामा जंगलमा बस्दै आएका राउटे वस्तीमा जथाभावी बाह्य व्यक्तीहरुको प्रवेशले असुरक्षित बन्न थालेका हुन् । विभिन्न बहानामा राउटे वस्तीमा जाने र त्यहाँ उनिहरुको गोपनियतासँगै विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवित्ति बढेपछि राउटे समुदाय असुरक्षित बन्दै गएको देखिन्छ ।
कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रुपमा जीवन विताउँदै आएका राउटे समुदायका युवतीमाथी केही बर्ष अगाडी पनि यौन दुव्र्यवहार भएको भन्दै प्रहरीले केही व्यक्तीमाथी मुद्धा चलाएर कारवाही गरेको थियो । यी घटनाले राउटे समुदायमा चुनौती थपिएको पुष्टी हुन्छ । सुरक्षा चुनौती बढ्न थालेपछि अहिले राउटे समुदाय त्रासमा रहेका त्यही समुदायका व्यक्तीहरु बताउछन् । राउटे समुदायका युवा दिपक शाही भन्नुहुन्छ, “बाहिरबाट बिना काममा वस्तीभित्र आउने गर्दा आफुहरुलाई असहजता बनाएको छ । रातीमा वस्तीभित्र बाहिरका मानिसहरुका आउन थालेपछि झनै असुरक्षित हुन थालेको छ, हामीलाई सुरक्षा चाहियो । हिजो मात्रै हाम्रो वस्तीमा रक्सी खाएर आएको एकजना मान्छे आएर हाम्रो वस्तीमा हल्ला गर्यो । अरु बेलामा पनि जथाभावी मानिसहरु आउँदा हामी त्रासमा छौँ ।”
उहाले दिउँसोको समयमा राउटे वस्तीमा आएपनि रातको समयमा मादक पदार्थ सेवन गरेर नआउँन आग्रह गर्नुभयो ।
यस्तै, राउटे समुदायको रेखदेखका लागि काम गर्दै आउनुभएका सोसेकका दुर्गा खत्रीले पनि पछिल्लो समय राउटे समुदायमा सुरक्षा चुनौती थपिएको भन्दै वस्तीको लागि प्रहरी खटाउन आवश्यक रहेका औल्याउँनुभयो । राउटे वस्तीमा प्रहरी चाहिएको अवस्था छ । उहाले भन्नुभयो, “यहाँ बाहिरको मानिसहरु धेरै आउने भिडियो बनाउनेसँगै रातीको समयमा समेत गलत मानिसहरुको प्रवेश बढ्दै जाँदा राउटेको गोपनियता मात्रै होइन, अन्य अवाञ्छित क्रियाकलाप समेत बढ्न सक्ने खतरा बढ्दो छ । ”
उहाले राउटेहरु दिइने भत्ताको सट्टा राशन दिनुपर्ने भन्दै भत्ताको रुपमा रकम दिँदा उनिहरु मदिराको लतमा फस्दै गएकाले उनिहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको बताउनुभयो । यसले पनि राउटेहरुको सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।
राउटे समुदायमा भाइरल ज्वरोको संक्रमण
केहीदिनदेखि राउटे समुदायमा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको पाइएको छ । शुरुमा दुइजना मात्रै बिरामी परेकोमा पछिल्लो एक हप्ता २५ जना बिरामी परेका छन् । उनिहरुले डेङ्गु लगायतका अन्य चेकजाँच गर्न नदिने गरेको भन्दै प्राथमिक उपचार मात्रै गर्ने गरिएको राउटे समुदायको उपचारको लागि खटिनुभएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताउनुहुन्छ ।
“अहिले राउटे वस्तीमा ज्वरोको संक्रमण बढ्दो छ, पछिल्लो एक हप्तादेखि २५ जनाभन्दा बढी बिरामी पर्नुभएको छ, उहाहरुले डेङ्गु चेकजाँच गर्न दिनुहुन्न । हामीले प्राथमिक उपचार मात्रै गरेका छौँ । अन्य समस्या चेकजाँच गर्नको लागि उहाँहरु कन्भिन्स हुनुहुन्न ।”
राउटे समुदायको संख्या लगातार घट्दै
राउटे समुदायको संख्या लगातार घटिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययन २०८१ को रिपोर्टले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ ।
रिपोर्टमा २०७५ सालमा १ सय ४९ रहेको राउटेको जनसंख्या १५ माघ २०८१ सम्म आइपुग्दा घटेर १ सय ३५ मा झरेको छ ।
२०७५ सालमा १ सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा १ सय ४८ भयो । २०७७ मा फेरी तीन जनाको मृत्युपछि १ सय ४५ मा झरेको यो समुदायको संख्या २०७८ मा आउँदा १ सय ४४ मा झर्यो । अहिले यो समुदायको संख्या १ सय ३५ मा सिमित हुन पुगेको छ । यो समुदायको संख्या घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउछन् । उनिहरुका अनुसार यो समुदायको जनसंख्या घट्नुको पछाडी सामाजिक मुल्यमान्यता प्रमुख कारण छ ।
राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैर सरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापा भन्नुहुन्छ, “राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तिनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको बिवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवतीहरु बिवाह नगरेर बसेको अवस्था छ । अर्को परम्परा भनेको श्रीमानको मृत्युपछि जतिसुकै उमेर समुहका महिला भएपनि एकल भएर बस्नुपर्ने बाध्यता छ ।” थापाले थप्नुभयो, “अहिले एकल महिला २३ जना छन्, तिमध्य अधिकांस २० देखि ३० बर्ष उमेर समुहका छन् । उनिहरुले अर्को बिवाह गर्ने पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी संख्या बढ्छ ।”
थापाले राउटे समुदायमा युवाहरुको संख्याभन्दा जेष्ठ नागरिक र बालबालिकाको संख्या धेरै रहेको बताउनुहुन्छ । थापा भन्नुहुन्छ, राउटे समुदायको जनसंख्या घट्नुको अर्को कारण अत्याधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनिहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षण सम्बन्धि योजना बनाउनुपर्ने उहाको सुझाव छ ।
आयोगले सिधै रकमको साटो आवास, खाद्यन्न र पोषण, लत्ता कपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाले उनिहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ ।
आयोगका कर्णाली प्रदेश संयोजक मान बहादुर कार्की भन्नुहुन्छ, “उनिहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्यो, उनिहरुको जीविका चलाउन सहज होस भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनिहरुले आफ्नो खानपानभन्दा पनि मदिरा सेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनिहरुको मृत्यु धेरै भएको देखिन्छ । यही मात्रै कारण त नहोला तथापी अन्य कारणले पनि उनिहरुको संख्या घटिरहेको छ ।”
उनिहरुको स्वास्थ्य अवस्था पनि विग्रदै गएको भन्दै तिनै तहका सरकारहरुले मुख्यगरी उनिहरुको संरक्षणको लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ ।
“उनिहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीहरु विभिन्न कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ । त्यसका साथै सामाजिक परम्पराहरु पनि छन् जनसंख्या घट्नुको कारण छन् । त्यसैले सरकारले नयाँ योजना बनाएर यो समुदायको संरक्षणमा लाग्न सुझाव दिन्छु, कार्की भन्नुहुन्छ,”
पछिल्लो समय बढ्दो असुरक्षाले उनिहरुको मानवअधिकार समेत हनन् हुने सम्भावना बढेको उहाको भनाई छ ।
यता, कर्णाली प्रदेश सरकारले भने उनिहरुको लागि राउटे करिडोर निर्माणगरी विभिन्न संरक्षणका योजना अगाडी सारेको छ ।
बढ्दै राउटे वस्तीमा सुरक्षा चुनौती
बढ्दै राउटे वस्तीमा सुरक्षा चुनौती

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु