सुर्खेत । उसुको कर्णाली प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न यो प्रतियोगिता आयोजना गरिएको हो । छनोट प्रतियोगिताको बिहीबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा कर्णालीका विभिन्न आठ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली प्रदेश उसु संघका अनुसार छनोट प्रतियोगितामा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र सल्यानका खेलाडीको सहभागिता रहेको छ । उसु संघका प्रदेश अध्यक्ष गोविन्दबहादुर शाहीले यो प्रतियोगिता यही असोज ३१ गतेसम्म संचालन हुने जानकारी दिए ।
छनोट प्रतियोगितामा ६५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट आगामी मंसिर १६ देखी २७ गतेसम्म कर्णालीमा आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरु छनोट गरिनेछ । अध्यक्ष शाहीले भने,‘यो प्रतियोगिताबाट हामी जम्मा २३ जना खेलाडी छनोट गर्नेछौं, उनीहरुले नै कर्णालीको तर्फबाट राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।’ उनका अनुसार सान्दातर्फ १५ जना र थाउलुतर्फ ८ जना गरी २३ जना खेलाडी छनोट हुनेछन् । छनोट भएका खेलाडीलाई कार्तिक १० गतेबाट बन्द प्रशिक्षणमा राखिनेछ ।
यसैबीच उसुको प्रदेश स्तरीय छनोट प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले गरेका छन् । यो प्रतियोगिताबाट योग्य खेलाडीहरु छनोटट हुने र राष्ट्रिय खेलकुदमा कर्णालीले उत्कृष्ट नतिजा हात पार्ने उनको विश्वास छ । प्रतियोगिता संचालन गर्नका लागि २० जना रेफ्री खटिएको उसु संघले जानकारी दिएको छ । उद्घाटनमा छनोट प्रतियोगिता अन्तर्गत सुर्खेत जिल्ला संयोजक भिमकुमारी भुसाल, खेल प्रशिक्षक, र रेफ्रीलगायतको उपस्थिति रहेको थियो ।
सुरुभयो उसुको प्रदेश स्तरीय छनोट
सुरुभयो उसुको प्रदेश स्तरीय छनोट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
