सुर्खेत । कर्णाली प्रदेशका बाथरोगीहरूलाई लक्षित गर्दै नेसनल बाथरोग सेन्टरले सुर्खेतको बङ्गेसिमलमा आफ्नो १० औँ शाखा सञ्चालनमा ल्याएको छ ।
बाथरोग तथा रुमाटिक रोगको विशेषज्ञ निदान, उपचार र दीर्घकालीन व्यवस्थापनका लागि सेन्टरले आफ्नो सेवा सुरु गरेको हो ।
नयाँ शाखा विस्तार भएसँगै कर्णालीका बाथरोगीहरूलाई अब नियमित फलोअप र विशेषज्ञ उपचारका लागि काठमाडौँ वा अन्य ठूला सहर धाउनुपर्ने सास्ती हटेको छ ।
यात्रामा हुने खर्च, समय र अन्य झन्झटलाई न्यूनीकरण गर्दै स्थानीय स्तरमै गुणस्तरीय सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको सेन्टरले जनाएको छ ।
नेसनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले बाथरोगको समयमै सही निदान र विशेषज्ञ उपचार पाएमा यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताउनुभयो ।
२०६९ जेठ २२ मा काठमाडौँको रातोपुलबाट सेवा सुरु गरेको सेन्टरले हाल ललितपुर, भक्तपुर, पोखरा, झापा, बुटवल, दाङ, चितवन र धनगढीसहित देशका प्रमुख सहरहरूमा सेवा प्रदान गर्दै आएको छ ।
सेन्टरले उपचारसँगै कर्णाली प्रदेशमा जनचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, स्थानीय स्वास्थ्यकर्मीहरूसँग सहकार्य तथा बाथरोगसम्बन्धी अध्ययन–अनुसन्धानलाई समेत अघि बढाउने लक्ष्य लिएको सेन्टरका प्रबन्ध निर्देशक कक्षपतीले बताउनुभयो ।
कर्णालीमै बाथरोग उपचार सेवा विस्ता हुनु सुखदः प्रदेश प्रमुख जोशी
उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा नै बाथरोग उपचार सेवा विस्तार हुनु सुखद भएको बताउनुभयो ।
कर्णाली र सुदूरपश्चिमका महिलामा बाथरोगको समस्या बढी देखिने भएकाले समयमै रोग पहिचान गरी उपचार गर्नुपर्ने बताउँदै उहाले वाथरोग सेवा विस्तार हुँदा सहज हुने उल्लेख गर्नुभयो । उहाले बाथरोगलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिनुभयो ।
वीरेन्द्रनगर २ वडाध्यक्ष गजबहादुर बुढाले वाथरोग सम्बन्धि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुनु वीरेन्द्रनगर १ र २ का लागी झन खुशीको विषय भएको बताउनुभयो ।
वीरेन्द्रनगर एकका वडाध्यक्ष दिनेश खत्रीले शाखा विस्तारले कर्णालीका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ट बाथरोग विशेषज्ञ डा. बिनित वैद्यले बाथरोग समयमै पहिचान र विशेषज्ञ उपचार पाए प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुवन बीसीले बाथरोग सम्बन्धी जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यम र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
बाथरोग सेन्टरको शाखा सञ्चालन उद्घाटन कर्णाली प्रदेश प्रमुख जोशीले गर्नुभएको हो भने कार्यक्रममा बाथरोग सुर्खेत शाखाका प्रवन्ध निर्देशक रमेश कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन शाखा म्यानेजर कृष्ण बि.सीले गर्नुभएको थियो ।
कर्णालीमा बाथरोगको विशेषज्ञ सेवा विस्तारः सुर्खेतमा नेसनल बाथरोग सेन्टरको शाखा सञ्चालन
कर्णालीमा बाथरोगको विशेषज्ञ सेवा विस्तारः सुर्खेतमा नेसनल बाथरोग सेन्टरको शाखा सञ्चालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
