सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
पार्टीमा पुस्तान्तरणको आवश्यकता महसुस भएकाले आफूले उम्मेदवारी दिएको खड्काले बताएका छन्। अनुभवी पुस्ताको योगदान र नयाँ पुस्ताको ऊर्जा तथा सक्रियतालाई संयोजन गर्दै कांग्रेसलाई थप गतिशील बनाउनुपर्ने उनको भनाइ छ।
व्यवसाय, खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय खड्का सुर्खेतमा लामो समयदेखि सार्वजनिक गतिविधिमा परिचित छन्। उनी नेपाल निर्माण व्यवसायी संघ सुर्खेतका निवर्तमान अध्यक्षसमेत हुन्। निर्माण व्यवसायीको नेतृत्व गर्दै आएका खड्काले व्यवसायीका समस्या, पूर्वाधार विकास तथा निजी क्षेत्रका विषयमा समेत निरन्तर आवाज उठाउँदै आएका छन्।
खड्का नेपाली क्रिकेटको संस्थागत विकासमा समेत सक्रिय छन्। उनी नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कोषाध्यक्षका रूपमा कार्यरत छन्। यसअघि उनी कर्णाली प्रदेश क्रिकेट संघको पहिलो अध्यक्ष बनेका थिए। कर्णालीमा क्रिकेटको संस्थागत संरचना निर्माण र प्रदेश क्रिकेटलाई राष्ट्रिय तहमा स्थापित गर्न उनले भूमिका निर्वाह गरेका छन्।
खड्का पार्टीलाई आवश्यकता पर्दा आफ्नो तर्फबाट सक्दो सहयोग र योगदान गर्न सदैव अग्रपंक्तिमा रहने बताउँछन्। सामाजिक गतिविधि तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका उनले अब आफ्नो अनुभव र सक्रियतालाई पार्टी संगठनमा अझ प्रभावकारी रूपमा उपयोग गर्न चाहेको बताएका छन्।
“पार्टीमा पुस्तान्तरणसँगै नयाँ सोच, नयाँ ऊर्जा र जिम्मेवारी हस्तान्तरण आवश्यक छ,” खड्काले भनेका छन्, “अनुभव र ऊर्जालाई जोडेर पार्टीलाई अझ बलियो र जनतासँग जोडिएको संगठन बनाउनुपर्छ भन्ने उद्देश्यले मेरो उम्मेदवारी हो।”
उनले आफू निर्वाचित भएमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी संगठनको सुदृढीकरण, कार्यकर्ताको सम्मान, युवा सहभागिता र क्षेत्रको विकासका सवाललाई प्राथमिकतामा राख्ने बताएका छन्।
व्यवसायी नेतृत्व, क्रिकेट प्रशासन र सामाजिक क्षेत्रमा प्राप्त अनुभवसहित कांग्रेसको आन्तरिक राजनीतिमा अघि बढेका खड्काको उम्मेदवारीलाई क्षेत्र नं. २ मा चासोका साथ हेरिएको छ। आगामी महाधिवेशनमा कार्यकर्ताले उनको अनुभव, सक्रियता र पुस्तान्तरणको एजेन्डालाई कसरी मूल्यांकन गर्छन् भन्ने विषय महत्वपूर्ण हुने देखिन्छ।

