सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगितामा एथलेटिक्सतर्फका विभिन्न विधाका खेलहरू सञ्चालन भइरहेका छन्।
प्रदेश खेलकुद परिषद् कर्णालीको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका महिला तथा पुरुष खेलाडीले दौड, हाइजम्प र लङजम्पलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताअन्तर्गत १० हजार, ५ हजार, १५ सय चार सय र २ सय मिटर दौडका खेल सम्पन्न भएका छन् भने २१ हजार मिटर तर्फको दौड प्रतियोगिता बाँकी छ ।
हाइजम्प र लङजम्पका प्रतिस्पर्धा पनि जारी छन् । एथलेटिक्सका विभिन्न विधामा कर्णाली प्रदेशका जिल्लाहरूबाट सहभागी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । बाँकी विधाका खेल पनि क्रमशः सम्पन्न हुँदै जाने आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद परिषद् कर्णालीको आयोजनामा भइरहेको प्रदेशस्तरीय छनोट प्रतियोगिताको मुख्य उद्देश्य दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका खेलाडी छनोट गर्नु हो ।
विभिन्न जिल्लाका खेलाडी सहभागी प्रतियोगिताले खेलाडीको क्षमता परीक्षण गर्नुका साथै राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
छनोट प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, उसु, तेकवान्दो लगायतका खेलहरु च्लिरहेका छन् ।
छनोट प्रतियोगिता सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा चलिरहेका छन् । लामो प्रतिक्षापछि आगामी मंसिर २१ गतेदेखि कर्णालीमा पहिलोपटक दशौं राष्ट्रिय प्रतियोगिता हुँदै छ ।

