काठमाण्डौ । सरकारले देशभरि भिडियो शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उहाँले बताउनुभयो । मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो ।
‘सामाजिक सञ्जाल टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोलिने गरी, हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल हुने गरी प्रचारप्रसार भइरहेका छन् । यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरेको छ । यसका निम्ति हामीले सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने भन्ने निर्णय भएको छ । प्राविधिक रूपमा साथीहरू लागिरहनु भएको छ । यो आजैदेखि पनि सम्भव हुनसक्छ ।’
यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो । भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।
टिकटक बन्द गर्ने निर्णयको विरोध
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ ।
आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्नेरनगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।’
महामन्त्री थापाले सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएको भन्दै यो कदम सच्चाउनुपर्ने बताउनुभएको छ ।
यस्तै, नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वकर्मा शर्माले टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमा द्वेष फैलाउनेलाई पहिचान गर्न आग्रह गर्दै महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सरकार स्पष्ट होस्, राज्यले स्वच्छन्दता नियन्त्रण गर्ने हो, स्वतन्त्रता नियन्त्रण गर्ने होइन । सामाजिक(धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो । सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने भन्नेबारेमा खुला छलफल गरौँ, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौँ । टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर ।’
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष रु टिकटकका सबै प्रयोगकर्ता र विषय खराब छैनन् ।प्राविधिकरूपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ ।’
यता, नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
महासचिव पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्नु उचित नभएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनोट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’