सुर्खेत । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश समितिमा नेतृत्व चयन र प्रतिनिधि तोक्ने विषयमा विवाद उत्पन्न भएको छ ।
जिल्ला अधिवेशन, महासंघको विधान र वैधानिक प्रक्रियाबारे प्रश्न उठाउँदै पदाधिकारीहरूले केन्द्रीय नेतृत्वको कदमलाई असंवैधानिक भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश समितिले आज पत्रकार सम्मेलन गरी विधानअनुसार कर्णालीका दशवटै जिल्लाको अधिवेशन सम्मपन्न गरि रुकुम पश्चिममा प्रदेशको अधिवेशन समेत गरिसकिएको अवस्थामा केन्द्रीय नतृत्वले गरेको पछिल्ला क्रियाकलाप विधान विपरित रहेको बताएको हो ।
रुकुममा भएको अधिवेशनले गोमा कुमारी खड्का (वली) को अध्यक्षतामा ७ सदस्यीय प्रदेश कार्यसमिति र अमृता महतारा गौतमको अध्यक्षतामा ९ सदस्यी प्रदेश महिला उद्यमी कार्यसमिति निर्वाचित गरिएको भएपनि अहिले आएर केन्द्रीय नेतृत्व नै विद्यानविपरित लागेको आरोप लगाइएको छ ।
महासंघको विधानको धारा ११(२) को खण्ड ‘क’ र ‘ख’ मा प्रावधानअनुसार प्रक्रिया नअपनाई प्रतिनिधि छनोट गरिएको भन्दै प्रदेश अध्यक्ष गोमा खड्का (ओली) ले आपत्ति जनाएको बताउनुभयो ।
उहाले वैधानिक प्रक्रियाअनुसार मात्र अधिवेशन र प्रतिनिधि चयन हुने भन्दै केन्द्रीय नेतृत्वले प्रदेशको स्वायत्त अधिकारमा हस्तक्षेप नगर्न आग्रह गर्नुभयो । उहाले सम्पूर्ण पदाधिकारी, सदस्य र प्रतिनिधिहरूलाई संगठनको एकता र अनुशासनमा रहन अपिल गर्नुभएको छ ।
यसैबीच, महासंघको विधान बमोजिम आउँदो १९ भदौमा केन्द्रीय महाधिवेशन हुने कार्यतालिका रहेको र त्यसका लागि प्रदेश तथा जिल्ला प्रतिनिधिहरु कुनै भ्रममा नपर्न उहाले आग्रह गर्नुभयो ।