सुर्खेत । नेपाल औषधि व्यवसायी संघको नेतृत्वमा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समिति र कर्णाली प्रदेश संघले आह्वान गरेको आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी विभाग र समितिका प्रतिनिधिबिच तिन बुँदे सहमति भएसँगै औषधी व्यवसायी संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
व्यवसायीक संगठनहरूको मुख्य माग (औषधि ऐन, २०३५ को दफा ११ को उपदफा (३) संशोधन र उपदफा (५) खारेजी) सम्बन्धीः ३० दिनभित्र आवश्यक कानूनी प्रक्रिया सहजीकरण गर्ने, कानूनसंग सम्बन्धित बाँकी प्रशासनिक विषयहरूः औषधि व्यवस्था विभाग मार्फत सहजीकरण गर्ने, व्यवसायीहरुले गर्दै आएको आन्दोलनका कार्यक्रमहरू फिर्ता गर्ने सहमति बनेको छ ।
आफ्ना मागहरूको सम्बोधनका लागि सरकारलाई मंसिर १७ गतेसम्मको समयसीमा दिएको भन्दै यदी माग पुरा नभए फेरी आन्दोलनमा उत्रने चेतावनी व्यवसायीहरुले दिएका छन् ।
संघले यस अवधिमा व्यवसायी कार्यसञ्चालनको अवस्थालाई नजिकबाट अनुगमन गर्न र तयारी अवस्थामा रहन सम्पूर्ण जिल्ला शाखाहरूलाई कर्णाली प्रदेश संघ समितिले अनुरोध गरेको अध्यक्ष प्रेम बहादुर भण्डारीले जारी गर्नुभएको सुचनामा उल्लेख छ ।

