सुर्खेत । सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको योगदान अतुलनिय रहेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले उत्कृष्ट २० जना स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
२२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा आज वीरेन्द्रनगरमा गरिएको कार्यक्रममा उत्कृष्ट २० जनालाई सम्मान गरिएको हो ।
सामुदायिक स्वास्थ्य स्वयमसेविकाले गाउँगाउँमा स्वास्थ्य सचेतनाका कार्यक्रम गरेर शिशु मृत्युदर, मातृ मृत्युदरसँगै बालबालिकामा हुने कुपोषण घटाउन महत्वपूर्ण भुमीका निर्वाह गर्दै आएका छन् ।
उनिहरुको भुमीकालाई कदर गर्दै वीरेन्द्रनगरका १६ वटै वडाका २० जना स्वास्थ्य स्वयमसेविकाहरुलाई नगद २ हजार प्रमाणपत्रसहित सम्मान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र गिरीले जानकारी दिनुभयो ।
नगरपालिकाले दिएको यो सम्मानले आफुहरुलाई काम गर्न अझै हौसला मिलेको सम्मानित हुनुभएका स्वास्थ्य स्वयमसेविका यशोदा खत्रीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य स्वयमसेविका भिमा रोकाय रिजालले वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य स्वयमसेविकाको मनोबल बढाउन गरेका कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाले स्वयमसेविकाहरुको स्वास्थ्य बिमादेखि मासिक तिन हजार दिने गरिएको भन्दै यसले आफुहरुलाई काम गर्न अझै हौसला थपिएको बताउनुभयो ।
उहाले अन्य केही पालिकाको उदाहरण दिँदै सामाजिक सुरक्षा कोषमा स्वास्थ्य स्वयमसेविकाहरुलाई आवद्ध बनाइदिन माग गर्नुभयो ।
उहाले भन्नुभयो, “वीरेन्द्रनगर नगरपालिकाले हाम्रो लागि केही सकरात्मक कार्यहरु गरेको छ, यसको लागि धन्यवाद दिन्छु । जस्तै स्वास्थ्य, बिमादेखि मासिक तिन हजार रकम दिने निर्णय गरिएको छ, यो निर्णयले हामीलाई काम गर्न अझै हौसला र सहजता भएको छ, तर काठमाडौं महानगरपालिकासहित केही पालिकाले सामाजिक सुरक्षा कोषमा जोड्नुभएको छ, त्यसैगरी हाम्रो नगरपालिकाले पनि म सामाजिक सुरक्षा कोषमा जोड्न माग गर्दछु,”
यता, जनप्रतिनिधिहरुले स्वास्थ्य स्वयम सेविकाहरुको योगदानको प्रसंशा गर्दै उनिहरुको सेवा सुविधाको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्ु ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्रीले ग्रामीण क्षेत्रमा स्वास्थ्यमा आमुल परिवर्तन स्वास्थ्य स्वयमसेविकाकै कारण भएको भन्दै आफुले अझै सहजताको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभभयो ।
वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख निलकण्ठ खनालले कर्णालीका अन्य पालिकाभन्दा वीरेन्द्रनगर नगरपालिकाले धेरै काम गरेको बताउनुभयो ।
उहाले सामाजिक सुरक्षा कोषमा आवद्ध बनाउनेगरी आफुहरुले योजना बनाइरहेको भन्दै आगमी बर्षबाट सामाजिक सुरक्षा कोषमा जोडिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराई, स्वास्थ्य सेवा निर्देशनालयका नर्सिङ प्रशासक मान कुमारी गुरुङ, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्मा लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाभर १ सय ७८ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु रहेका छन् । उनिहरुले ग्रामीण स्वास्थ्य सुधारमा महत्वपूर्ण भुमीका निर्वाह गर्दै आएका छन् ।
यसैबिच, वीरेन्द्रनगरमा बालबालिकामा हुने कुपोषण दर घट्दै गएको पाइएको छ ।
जम्मा बालबालिका मध्य २६ हजार २ सय ८२ जना ह्रष्टपुष्ट छन भने ४ सय २० जना मध्यम कुपोषित रहेको तथ्याङ्क छ ।
यस्तै, ९ जनामा कडा कुपोषण हुँदा २ जनाको नियमित रेखदेख र उपचारपछि निको भएका छन् । नियमित अनुगमन गर्दा पनि ५ जनाको भने तौल वृद्धि हुन नसकेको तथ्याङ्कमा जनाइएको छ ।
नगरपालिकाले पालिकामा कुपोषणको दर घटाउन विभिन्न कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।
