सुर्खेत । कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्क अनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानको लागि बार्षिक ३० हजार जतिले श्रम स्वीकृती लिने गरेका हुन् ।
तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८१÷०८२ मा मात्रै कर्णाली प्रदेशका दश जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृती लिएका हुन् ।
जसअन्तरगत सबैभन्दा धेरै सल्यानबाट ६ हजार ९ सय ६७ पुरुष र ६ सय २० जना महिला गरि ७ हजार ५ सय ८७ जनाले श्रम स्वकृती लिएका छन् ।
यस्तै, सुर्खेतका ५ हजार ८ सय १९ पुरुष र ५ सय ६८ महिलासहित ६ हजार तिन सय ८७ जनाले श्रम स्वीकृत लिएको तथ्याङ्क रहेको छ ।
दैलेखका ३ हजार ९ सय ६५ पूरुष र ३ सय २३ महिला गरी ४ हजार २ सय ८८, रुकुम पश्चिमका २ हजार ८ सय ५९, जाजरकोटका २ हजार ५ सय १८, कालिकोटका एक हजार २५, जुम्लाका १२ सय ५५ जनाले श्रम स्वीकृती लिएका छन् ।
यसैबिच, मुगुका ६ सय ८६, हुम्लाका ६ सय ८ र डोल्पाका ६ सय ८८ जनाले श्रम स्वीकृती लिएको पाइएको छ ।
पछिल्लो समय स्वदेशमा रोेजगारीका अवसरहरु सिर्जना हुन नसक्नु र धेरै रकम कमाउने आशमा यहाँका मानिसहरु वैदेशि रोजगारीमा जाने चलन बढेको सरोकारवालाहरु बताउछन् ।
वैदेशि रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले संचालन गरिरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रमका सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
उनिहरुले सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोज्नुपर्ने विदेश जानु पर्ने नै भए जानेर बुझेर मात्र जानुपर्नेमा सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै श्रम अधिकृत ध्रुव देवकोटाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनको लागि गाउँ गाउँसम्म सचेतना कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमल बहादुर रोकायले वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २ सय ६४ जनाको मृत्यु भएको जानकारी दिँदै वैधानिक र कानुनी प्रक्रियाबाट मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने सुझाव दिनुभयो ।
उहाले पछिल्लो समय अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगि घटना बढीरहेको भन्दै सबै पक्षले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीले देशमा रोजगारीको अवसर नहुँदा विदेश जानुपर्ने अवस्था रहेको भन्दै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु सबै कुरा थाहा पाएर मात्रै जानुपर्ने सुझाव दिनुभयो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव अजित कुमार कर्णले सरकारले श्रम सम्झौता गरेका देश बाहेक अन्य देशमा जान नहुने विषयमा सबै गाउँमा चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
स्वीस सरकार र हेल्भेटासको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम कर्णालीका ५१ पालिकामा लागु भएको छ ।
कार्यक्रम मार्फत आप्रवासन सम्बन्धिका विभिन्न कार्यक्रम संचालन गरिरहेको परियोजनाका यामलाल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम मार्फत वैदेशिक रोजगार नागरिक साहयकता कक्ष सञ्चालन गरि वैदेशिक रोजागरीमा जाने व्यक्तीहरुलाई परामर्श गर्ने गरिएको छ ।
कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, वैदेशिक रोजगारलाई सुरक्षित बनाउनुपर्नेमा जोड
कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, वैदेशिक रोजगारलाई सुरक्षित बनाउनुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
