सुर्खेत । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । तर कर्णाली प्रदेशका ग्रामीण वस्तीहरुमा युवा मतदाता गाउँमा छैनन् ।
कर्णालीका युवाहरु रोजगारीका लागि धेरैजसो भारतमा जाने गर्दछन् । कतिपय परिवारसहित रोजगारीमा जाने चलन छ ।
खेतीपातीको सिजन र दशैंतिहार मनाउने समयमा मात्रै गाउँमा बस्ने उनिहरु अधिकांस समय रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।
अहिले कर्णालीका गाउँ गाउँमा राजनितिक दल र उम्मेद्वार निर्वाचन प्रचारको लागि गाउँ गाउँ पसेका छन् । तर युवा मतदाता भेट्टाउन नसकिने अवस्था छ ।
सुर्खेतको चौकुने गाउँपालिकाका वडा नम्बर ५ का लोकेन्द्र सिंहराज थापाले अधिकांस युवाहरु अहिले गाउँमा नभएको बताउनुभयो ।
उहाले भन्नुभयो, “यहाँका युवाहरु खेतीपातीको सिजन र चाडपर्वको बेलामा गाउँमा आउछन्, अरु बेलामा रोजगारीका लागि भारततिर जाने गर्दछन्, यो चुनाव मंसिर अथवा बैशाखातिर भएको भए धेरै मतदाता हुन्थे । तर अकस्मात आन्दोलनले निर्वाचनतिर देशलाई लिएको हुँदा युवाहरु जम्मै बाहिर छन्, चुनावमा भाग लिने धेरै हुँदैनन् ।”
उहाले गाउँमा निर्वाचनको रौनक बढेपनि महिला र बुढाबुढी मात्रै मतदाता रहेको भन्दै अब गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।
चौकुने गाउँपालिकाकै सितादेवी नेपालीले पनि अहिले गाउँमा युवा मतदाता नरहेको बताउनुभयो । उहाले राजनिती भन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने अवस्थाले युवाहरु विदेशिन बाध्य भएको बताउनुभयो ।
उहाले गाउँमा रहेका अन्य युवाहरु पनि रोजगारीको लागि बाहिर जाने तरखरमा रहेको भन्दै यो समस्या अब निर्वाचित हुने प्रतिनिधिहरुले समाधान गर्नुपर्ने सुझाव दिनुभयो । भारत लगायतका ठाउँमा रोजगारीमा जाने चलन यो क्षेत्रको पहिलेदेखिकै हो उहाले भन्नुभयो,” “अहिले पनि युवाहरु रोजगारीको लागि भारत लगायतका ठाउँमा गएका छन्, अब जित्ने प्रतिनिधिहरुले युवाहरुलाई गाउँमै रोजगार बनाउनेगरी काम गर्नुपर्छ ।”
स्थानीय सरकारले युवाहरुलाई विभिन्न स्वरोजगारका कार्यक्रम संचालन गर्दै आएपनि प्रभावकारी हुन सकेका छैनन् ।
सुर्खेत चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले स्वरोजगार सम्बन्धिका कार्यक्रमहरु संचालन गरिएपनि युवाहरु गाउँमा नबस्ने गरेको बताउनुभयो ।
सुर्खेत मात्रै होइन, कर्णालीका अधिकांस युवाहरु रोजगारीका लागि भारतमा जाने गर्दछन् । पछिल्लो समय भने भारत बाहेकका मुलकमा जाने समेत थालेका छन् ।
यता, मत माग्न गाउँ पसेका उम्मेद्वारहरुले भने रोजगारी गाउँमै सिर्जना गर्ने भन्दै मतदाता फकाइरहेका छन् ।
गाउँमा छैनन् युवा मतदाता
गाउँमा छैनन् युवा मतदाता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

