सुर्खेत । प्रदेश सरकारले लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा कर्णाली प्रदेशका सरोकारवालाले जोड दिएका छन् ।
अक्सफामको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले आज बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको लैङ्गिक उत्तरदायी बजेट विनियोजन र कार्यान्वयको अवस्थाका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रमा बोल्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले प्रदेश सरकार लैङ्गिक उत्तरदायी बजेट निर्माण र कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारले विभिन्न कार्यक्रम मार्फत बजेटलाई लैंगिक उत्तरदायी बनाउने प्रयास गरिएको उहाको भनाई छ ।
“हामीसँग आन्तरिक स्रोत एकदमै सानो छ, मलाई लाग्छ बार्षिक ५४ करोड मात्रै हाम्रो आम्दानी हुन्छ, प्रदेशका आवश्यकता धेरै छन् । उहाले भन्नुभयो,” “तर पनि हामी सबै वर्ग समुदाय, भुगोललाई समेट्नेगरी नीति कार्यक्रम तथा बजेट विनियोजन गर्ने गरेका छौँ ।”
स्रोतको सुनिश्चित गरि आगामी वर्षहरुमा बजेट निर्माण गर्दा अझै लैङ्गिक उत्तरदायी बजेट निर्माणमा ध्यान दिईने उहाँको भनाई छ ।
सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले पनि सबै वर्ग र समुदायको प्रतिनिधित्व सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसको लागि सरकारको नीति कार्यक्रम र बजेटले समेट्नुपर्ने बताउँदै कर्णाली सरकारले सामाजिक मुद्धालार्य प्रथामिकता दिनुपर्ने बताउनुभयो ।
प्रदेश योजना आयोगका सदस्य डम्बर रोकायले आफ्नो प्रस्तुती राख्दै कर्णालीलाई आगामी विस २१०० सम्म उच्च आर्थिक वृद्धिसहितको प्रदेश बनाउने योजना रहेको बताउनुभयो ।
उहाले त्यसका लागि सबै वर्ग, लिङ्ग, जातजातिहरुको समान पहुँच पुर्याउनेगरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि प्रदेशमा लैङ्गिक उत्तरदायी वजेट बन्नुपर्ने बताउनुभयो ।
अब ठुला आयोजनाहरु पनि लैङ्गिक उत्तरदायी बजेटको आधारमा संचालन हुन आवश्यक रहेको भन्दै त्यहीअनुसार योजना बन्नुपर्ने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जेसी सम्बन्धिको नीति बनेको भन्दै अब जेडसी नीति बनाउनेगरी मन्त्रालय लागेको जानकारी दिनुभयो । जेडसी नीति लागु पश्चात कर्णालीका सबै वर्ग, समुदाय, धर्म र जातजातीको प्रतिनिधित्व बजेट मार्फ सुनिश्चित हुने दाबी गर्नुभयो ।
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का अध्यक्ष देवी पौडेलले कर्णालीलाई समृद्ध बनाउन सबै वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सरकारका योजनामा हुन आवश्यक रहेको औँल्याउनुभयो । उहाले त्यसकै लागि आफुहरुले सरकारलाई सहयोग गर्न कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।
लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा जोड
लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
