सुर्खेत । सुर्खेतका १६ वर्षिया इनिसा विकको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग पत्र पेश गरेको छ।
सरकारी वकिलको कार्यालयले पेश गरेको अभियोगमा १० देखि १२ बर्ष कैदसहित ५ लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान मुद्धामा आजीवन जन्मकैद माग दाबी गर्दै ४१ पृष्ठ लामो अभियोग पत्र सुर्खेत जिल्ला अदालतमा पेश गरेको हो ।
अभियुक्तहरु चारै जना नाबालक भएका कारण कुल सजायको दुई तिहाई कैद माग दाबीसहित अभियोगपत्र दायर गरिएको जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले जानकारी दिनुभयो ।
प्रहरीले अनुसन्धान सकेर गएको बुधबार मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
न्यायाधिवक्ता महतले अन्य तिनजनाले अस्पताल लिने प्रयाप्त समय भएपनि लिने प्रयास नगरेको भन्दै उनीहरूको मनसाय पनि त्यही देखिएकाले चारजनै विरुद्ध अभियोग पत्र पेश गरिएको बताउनुभयो ।
अभियुक्तहरुको आजदेखि नै बयान लिन सुरु गरिएपनि सोमबारमात्रै थुनछेक बहस हुने सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्जवलदेव रावलले जानकारी दिनुभयो ।
पिडित परिवारको धर्ना
यता पीडित परिवार र अधिकारकर्मीहरुले आज दिनभर अदालत अगाडि धर्ना र नाराजुलुस गरेका छन् ।
अनुसन्धानप्रति अविश्वास जनाउँदै आएका पीडित परिवार र अधिकारकर्मीहरुले निष्पक्ष र पारदर्शी प्रक्रियाबाट घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।
गत फागुन २३ मा मृत्यु भएकी इनिसाको शव तीन साता बित्दासमेत परिवारले बुझेको छैन् ।
मृत्यु प्रकरणमा परिवारले सुरुदेखि नै शंका व्यक्त गर्दै न्याय नपाएसम्म शव नउठाउने बताउँदै आएको छ । पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै परिवारले पुनः अनुसन्धानको माग गरेको छ ।
इनिशाको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । छोरीको मृत्युपछि एक महिना छुट्टी लिएर नेपाल फर्किएका इनिसाका बुवाको कम्पनीबाट पाएको बिदा सकिन थालेको छ ।
प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएको आरोप लगाउँदै इनिसाका बुवा इन्द्र विकले छोरीले न्याय नपाउने हो की भन्ने चिन्ता बढेको बताउनु भयो । घटनाबारे सीआईबी सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरेका थिए ।–––
इनिसा विक मृत्यु प्रकरणः बलात्कारपछि हत्या गरिएको दाबीसहित जिल्ला अदालतमा अभियोग–पत्र पेश
इनिसा विक मृत्यु प्रकरणः बलात्कारपछि हत्या गरिएको दाबीसहित जिल्ला अदालतमा अभियोग–पत्र पेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
