सुर्खेत । आफ्नो पहिचानसहित नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुले माग गरेका छन् ।
निलहिरा समाजले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनीहरुले यस्तो माग गरेका हुन् ।
संविधानले स्पष्ट व्यवस्था गरे पनि राज्यले आफूहरुको पहिचान खुल्नेगरी नागरिकता दिन नसकेको भन्दै उनीहरुले नागरिकताका सवालमा आफुहरु विभेदमा परेको बताएका हुन् ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै निलहिरा समाजका अधिकृत भक्ति शाहीले आफ्नो पहिचान खुल्नेगरी नागरिकता लिन आफुहरुले धेरै प्रक्रिया पुरा गर्नुपरेको बताउनुभयो ।
आफुहरुलाई पहिचानसहित जिउन सक्नेगरी वातावरण तयार गर्न माग गर्दै तीन तहकै सरकारले यसमा पहल गर्नुपर्नेमा अधिकृत शाहीले जोड दिनुभयो ।
नेपालको कानुनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएपनि त्यस्तो विवाह अस्थायी दर्ता हुने गरेको भन्दै यसमापनि संशोधन आवश्यक रहेको उहाको भनाइ छ ।
यता, वीरेन्द्रनगरका जनप्रतिनिधिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सन्दर्भमा अहिले पनि बुझाइ कमजोर रहेको भन्दै यसले विभेदलाई प्रश्रय दिएको बताएका छन् ।
विभेद् कमगर्न र उनीहरुको पहिचानसहित खुल्ला रुपमा हिँडडुल गर्न पाउने वातावरण निर्माणका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याएका छन् । वीरेन्द्रनगर– १ का वडा अध्यक्ष दीनेश खत्रीले संविधान र ऐन कानुनमा भएका जटिलतालाई हटाएर सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने भन्दै वडाको बजेटमा उनीहरुलाई समेट्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।
पहिचानसहित नागरिकता पाउनुपर्ने माग
पहिचानसहित नागरिकता पाउनुपर्ने माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

