सुर्खेत । कर्णाली प्रदेश सरकारले शुरु गरेको हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम मार्फत विकास निर्माण सम्बन्धिका एक हजार १ सय ८० गुनासाहरु दर्ता भएका छन् ।
वि.स २०७९ सालदेखि हालसम्म विभिन्न माध्यमबाट एक हजार एक सय ८० वटा गुनासो दर्ता भएका हुन् । तिमध्य एक हजार ७३ गुनासोको सम्बोधन गरिएको छ भने एक सय ६ वटा प्रक्रियामा रहेका छन् ।
सरकारले नागरिकका गुनासो सुन्नको लागि प्रदेश स्थापनादेखि नै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहनेगरी हटलाइन सेवा शुरु गरेको थियो । शुरुमा प्रभावकारी नभएको यो कार्यक्रम २०७९ सालदेखि भने केही सुधार आएको हो ।
हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम अन्तरगत विकास निर्माण तथा सेवा प्राप्ति सम्बन्धि गुनासो गर्न सकिन्छ, भने ती गुनासोहरुको सम्बोधन गर्न पहल यो कार्यक्रम मार्फत गर्ने गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेशका कम्युटर अधिकृत ज्योती शाहीले जानकारी दिनुभयो ।
गुनासो सुन्नको लागि हटलाइन सेवा, मोवाइल एप, एसएमएस लगायतका सेवाहरु संचालन गरिएका छन् ।
शाहीका अनुसार २०७९ सालदेखि हालसम्म सबैभन्दा बढी राष्ट्रिय कल मार्फत ५ सय ४४ वटा गुनासो दर्ता भएका छन् ।
यस्तै, मोवाइल एपबाट ४ सय ९६ वटा, फेसबुकमार्फत २० वटा, वेभसाइटबाट ८५ वटा, एस एम एसबाट ८, इमेलबाट ४ वटा गुनासो दर्ता भएका थिए ।
यस्तै, स्वयम व्यक्ति उपस्थित भएर ८ वटा गुनासा आएको अधिकृत शाहीले बताउनुभयो ।
चिठी मार्फत १४ र अन्य ४५ गुनासो दर्ता भएका थिए । तिमध्य अधिकांस गुनासाहरुको सम्बोधन गरिएको उहाले बताउनुभयो ।
सबैभन्दा धेरै सडक पुलसंग सम्बन्धित २ सय १ वटा गुनासो आएका थिए भने खानेपानी सम्बन्धित गुनासो १ सय ५८, विद्युत सम्बन्धि गुनासो ९५ वटा आएका थिए ।
त्यस्तै सामुदायिक विद्यालय सम्बन्धी, स्थानीय तह सम्बन्धी, स्वास्थ्य चौकी÷अस्पतालसंग सम्बन्धीत गुनासो बढी आउने गरेको उहाको भनाई छ ।
प्रदेश सरकारले सेवालाई जनमैत्री र सहज सेवा दिनको लागि हाम्रा कुरा हाम्रा मुख्मन्त्री कार्यक्रम मार्फत गुनासो सुन्ने र त्यसको समाधान खोज्ने व्यवस्था मिलाएको हो । बार्षिक २ सयभन्दा धेरै गुनासो आउने गरेको जनाइएको छ ।

