सुर्खेत । डिजिटल प्रविधिको तीव्र विकासले सञ्चार क्षेत्रमा नयाँ अवसर सिर्जना गरे पनि त्यससँगै भ्रामक सूचनाको प्रचार तथा पत्रकारिताको विश्वसनीयतामाथि चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको सहयोग तथा नेपाल प्रेस युनियन सुर्खेत शाखाको आयोजनामा डिजिटल मिडियाको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
पत्रकार ललित बुढाले डिजिटल मिडियालाई समयको आवश्यकता र अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै यसको प्रभावकारी व्यवस्थापनका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो । उहाँले डिजिटल माध्यमलाई रोक्नेभन्दा पनि व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
पत्रकार मालती केसीले डिजिटल मिडियाको प्रभाव, चुनौती र सम्भावनाबारे व्यापक बहस आवश्यक रहेको बताउँदै यस विषयलाई नीति निर्माण तहसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश प्रमुख सुरज सिंहले डिजिटल मिडियाको सदुपयोगभन्दा दुरुपयोग बढ्दै गएको भन्दै पत्रकारिताको आचारसंहिताको पालनामा कमजोरी देखिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सूचना प्रवाहमा विश्वसनीयता र तथ्यपरकतालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार आकाशतारा वयकले डिजिटल मिडियाको सही प्रयोग गर्न सकिए समाज रूपान्तरण, सूचना पहुँच र नागरिक सचेतनामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
पत्रकार प्रकाश अधिकारी पनि अबको युग सुहाउदो पत्रकारिता आवश्यकता रहेको भन्दै डिजिटल मिडियालाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
नागरिक समाजका प्रतिनिधिहरूले पनि डिजिटल मिडियाको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने तर त्यसको दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी कानुनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन् ।
दलित महिला संघका अध्यक्ष खगिसरा ओलीले डिजिटल मिडियाले अवसरसँगै अनेक चुनौती पनि सिर्जना गरेको उल्लेख गर्दै यसको दुरुपयोग रोक्न राज्यले कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले डिजिटल मिडियाजस्तो समसामयिक विषयमा बहस सुरु हुनु सकारात्मक भएको बताउँदै अब यसलाई नीति निर्माण तहसम्म पु¥याएर आवश्यक पैरवी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वरिष्ठ पत्रकार श्रीधर पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै डिजिटल मिडियाको जिम्मेवार र व्यावसायिक प्रयोगमार्फत पत्रकारिताको विश्वसनीयता जोगाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्तलगायतले पनि डिजिटल मिडियाको अवसर, चुनौती र यसको प्रभावकारी नियमनका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रम नेपाल प्रेस युनियन सुर्खेत शाखाका अध्यक्ष मधुवन विसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
डिजिटल मिडियाको अवसर र चुनौतीबारे नीति निर्माण तहसम्म बहस आवश्यक छः सरोकारवाला
डिजिटल मिडियाको अवसर र चुनौतीबारे नीति निर्माण तहसम्म बहस आवश्यक छः सरोकारवाला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
