सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा साउनको मध्यसम्म पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । आकासे पानीमा निर्भर अधिकांश किसानले अझै खेतमा धान रोप्न नसक्दा यस वर्षको कृषि उत्पादन घट्ने चिन्ता बढेको हो ।
गाउँपालिकाका अनुसार हालसम्म करिब २५ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ भने ७५ प्रतिशत क्षेत्र अझै रोप्न बाँकी छ । पानीको अभावले धान मात्रै होइन, मकै, कोदो लगायतका बर्खेबाली पनि सुक्न थालेका छन् ।
सिम्ता गाउँपालिका–६ का किसान सुरबिर बाठाले आकासे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताउँदै साउनको मध्यसम्म पनि धान रोप्न नसकेको गुनासो गर्नुभयो ।
विगतमा समयमा वर्षा हुने गरे पनि पछिल्ला वर्षमा वर्षा अनियमित बन्दै गएको उहाँको अनुभव छ । यही अवस्था रहे खाद्यान्न संकट निम्तिने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।
स्थानीय किसान लालसरी महरले जलवायु परिवर्तनका कारण वर्षा अनियमित भएको हुनसक्ने बताउँदै लगाएको मकैसमेत सुक्न थालेको बताउनुभयो। भेरी नदी नजिकै भए पनि सिँचाइ सुविधा नहुँदा किसानले नदीको पानीसमेत उपयोग गर्न नसकेको उहाँको गुनासो छ ।
कृषक सुदुकला कुवरले कृषि नै परिवारको मुख्य जीविकोपार्जनको आधार भए पनि पर्याप्त वर्षा र सिँचाइको अभावले खेती संकटमा परेको बताउनुभयो। वर्षायाममै पानी नपर्दा अन्य बालीसमेत सुक्दै गएको भन्दै किसानको जीवनयापन नै जोखिममा परेको उहाँको भनाइ छ ।
सिम्ताका ६५ वर्षीय सौरी बुढाले पहिलेजस्तो समयमा वर्षा नहुने अवस्था देखिन थालेको बताउँदै किसानलाई राहत दिन सरकारले सिँचाइको स्थायी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले जलवायु परिवर्तनको प्रभावका कारण समयमा वर्षा नहुँदा कृषि क्षेत्रमा गम्भीर असर परेको बताउनुभयो। हालसम्म गाउँपालिकामा करिब २५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको जानकारी दिँदै उहाँले यसले उत्पादनमा समेत गिरावट ल्याउने बताउनुभयो ।
उहाँका अनुसार आगामी वर्षदेखि सुख्खा क्षेत्रलाई लक्षित गरी लिफ्टिङ प्रविधिमार्फत सिँचाइ सुविधा विस्तार गर्ने योजना गाउँपालिकाले अघि बढाएको छ ।
कृषि नै मुख्य पेशा र आयआर्जनको आधार रहेको सिम्तामा समयमा वर्षा नहुँदा किसानको वर्षभरिको उत्पादन जोखिममा परेको छ ।
पर्याप्त वर्षा नभए यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आउने र त्यसको असर स्थानीय खाद्य सुरक्षासम्म पुग्ने चिन्ता व्यक्त गरिएको छ ।
आधा साउनसम्म पनि धान रोपाइ नहुँदा किसानहरु चिन्तित
आधा साउनसम्म पनि धान रोपाइ नहुँदा किसानहरु चिन्तित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
