सुर्खेत, १६ साउन । कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले कर्णाली प्रदेशका दुई अस्पताल तोकेको छ ।
कोरोना सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेपछि सरकारले सङ्क्रमितको उपचारका लागि सरकारले प्रदेशका दुइ अस्पतालहरूको नाम तोकेको हो ।
जस अन्तरगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर रहेका छन ।
सरकारले तोकेका यी अस्पतालमा उपचार गर्दा शुल्क नलाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले कोरोना सङ्क्रमतिको उपचारका लागि तोकिएका अस्पताललाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने जनाएको छ ।
सरकारले कर्णाली सहित अन्य ६ वटा प्रदेशमा पनि उपचारका लागि अस्पताल तोकेको छ ।

थप आठ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि
यसैबिच, नेपालमा थप आठ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ दशमलव १४ प्रतिशत हो ।
यही अवधिमा दुई सय ६४ जना कोरोना सङ्क्रमित निको भएका छन् । थप एक जनाको मृत्यु भएको छ । अहिले नेपालमा चार हजार नौ सय ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
