विभिन्न किसिमका खनिज तत्व लगायत दुई भाग हाइड्रोजन र एक भाग अक्सिजनको सम्मीश्रणबाट बनेको पदार्थ हो पानी । जुन मानव जीवनको लागि मात्र नभई सम्पूर्ण सजिव प्राणी जगतको अस्तित्व बचाउनका लागि अति महत्वपूर्ण तत्व अन्तर्गत पर्दछ । प्रकृतिको अनुपम उपहारको रुपमा रहेको पानीबाट नै मानव जीवन र प्राणीहरुको अस्तित्व स्थापित भएको छ । पानी एक तरल पदार्थ मात्र नभई यस भित्र लुकेको शक्तिका कारण पनि विशेष छ । यसलाई विभिन्न स्वरुपमा प्रयोगमा ल्याउन सकिन्छ । वैकल्पिक उर्जाको प्रमुख श्रोतका रुपमा रहेको जलविद्युतले औद्योगिक युगको सुरुवात मात्र गरेन मानव सभ्यतालाई नै परिस्कृत गरेको छ । पानीको माध्यमद्धारा स–साना मेसीन देखि ठूलाठूला यन्त्र उपकरणहरुको सञ्चालन गर्न सकिन्छ । व्यक्तिगत सरसफाई, खाना पकाउने, बोटविरुवाहरुमा सिंचाई गर्न, जलचर प्राणीहरुको जीवनको अस्तित्वका लागि पानी नभई नहुने पदार्थ हो ।
पानी नै प्राणी पानी नै जिन्दागानी
ईतिहास साक्षी छ, पानीको महत्वलाई बुझाउन र सम्झाउनको लागि । चीनको ह्वाङ्हो नदीको सभ्यता, नाइल नदीको सभ्यता लगायतका अनगीन्ती मानव सभ्यताहरु पानीको श्रोतबाट नै सुरुवात भएका छन् । पानी देखि सभ्यता सुरु भएको कारण पानी जोगाई राख्नलाई प्रकृतिलाई संरक्षण, सम्बद्र्धन गर्न जरुरी छ । पानीको चक्र निरन्तर रुपमा चलिरहेको हुन्छ । जमिनको पानी वास्पीकरण भएर बादल बन्ने र चिसिएर पुनःजमिनमा पानीको रुपमा बर्षन्छ । जुन केही मात्रामा जमिन मूनी संचित भई रहन्छ भने केही मात्र जमिनको सतहमा रहन्छ । बोटविरुवाहरुले आवश्यक मात्रामा पानी भण्डारण गर्ने गर्दछन । पानीबाट जलविद्युत उत्पादन गरी कलकारखाना खोली देश विकासको मेरुदण्डको रुपमा समेत लिन सकिन्छ । पानीबाट हर कुरा सम्भव छ । मात्र प्रयोग परिचालन गरिनुपर्दछ ।
पानी संरक्षण गरौँ
हिमाल, पहाडका फेदिबाट सेतो सुनको रुपमा बहने कतिपय पानी त्यतिकै खेर गईरहेको छ । कतिपय ठाउँमा खोलामा पानी बग्ने तर खोला नजिकैको जमिन बाँझै हुने गरेको देखिन्छ । उचित प्रयोगमा ल्याउन सके त्यस्ता बाँझा जमिनलाई समेत हराभरा बनाउन सकिन्छ । सम्भावना प्रशस्त मात्रामा भएतापनि कतिपय ठाउँमा उचित प्रविधिको प्रयोग नगर्दा पानी खेर गई रहेको छ । पानीको उचित प्रशोधन गरी विदेश निर्यात गर्न सकिन्छ जसबाट लाभ समेत प्राप्त गर्न सकिन्छ । उदाहरणको लागि रसुवामा हिमालयन स्प्रिङ वाटरलाई लिन सकिन्छ । मानिस देखि यस पृथ्वीमा रहेका हर जीवित प्राणीको लागि पानी आवश्यक र अपरिहार्य छ । पहाडको अनेक कोण, खोंचबाट बग्दै आएको पानी प्रकृतिको त्यो अनमोल बरदान हो ।जसको अभावमा जीवनको कल्पना समेत गर्न सकिदैन । नेपाल जलस्रोतको दृष्टिकोणले संसारमा दोस्रो र दक्षिण एसियामा पहिलो धनी मुलुक हो । नेपालको हिमाली भेगबाट सुरुवात भएका नदीहरु समुद्रसम्म पुग्ने र वीचमा पर्ने विभिन्न क्षेत्रहरुमा प्रयोगशील रहेका छन् ।
प्रकृतिले पानीमा यस्तो अद्भुत गुण दिएको छ, जसले सजिव प्राणीको अस्तित्व बचाउन सकेको छ । मानव तथा जीवित प्राणीकी निर्माणमा करिब ३ भाग पानी रहेको हुन्छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशत बढी समुद्र र सागरमा नुनिलो पानीले ओगटेको छ । जसले करिब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएका जम्मा पानीका परिणाम १४० लाख क्युविक मिटर मात्र खानलाई सुरक्षित भएको अनुमान गरिएको छ । हाम्रो देश नेपालमा साना ठूला गरी ६ हजार १ सय भन्दा धेरै नदिनाला छन् जुन बाह्रै महिना बहने ७० प्रतिशत र सात महिना निरन्तर बहने नदि २० प्रतिशत तथा चार महिना बहने नदिहरु १० प्रतिशत जति रहेका छन् । नेपालमा २५ दखि ५ सय किलो मिटर सम्म बहने लामा नदि छन् ।
अर्थतन्त्र बलियो बनाउन पानी
नेपालका सुन्दर ताल तलैयाबाट पर्यटक भित्र्याई आर्थिक लाभ लिन सकिन्छ । नेपालमा करिब ५ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । यहाँका राराताल, शे–फोक्सुण्डो ताल, घोडाघोडी ताल, विस हजारी ताल, जगतिपुर जलाशय, माइपोखरी, कास्कीका विभिन्न ९ वटा तालहरु, कोशीटप्पु वन्यजन्तु आरक्ष, विश्व सिमसार क्षेत्रमा सुचिकृत छन् । नेपालको सन्दर्भमा ठूला साना झण्डै चार हजार भन्दा धेरै सिमसार क्षेत्ररहेकोमा कतिपय मासिसकेका छन, भने कतिपय मासिने क्रममा छन् । यस्तो क्षेत्रमा संरक्षण गर्नलाई नेपालमा सिमसार संरक्षण नीति तथा कार्यक्रम लागु गरिएको छ । वातावरणीय विकासलाई प्राथमिकता दिन थालिएको भएतापनि अव्यवस्थित बस्ती विस्तार, जमिन मुनीको पानीको जथाभावि दोहन, वन फडानी, डढेलो जस्ता मानविय तथा प्राकृतिक कारण समेत सिमसार क्षेत्र जलाशय सुक्दै मासिदै गएकाले संरक्षण सम्वद्र्धन गर्नलाई हामी सबैको साझा दायित्व रहन्छ । यिनी मासिनु विनाश हुनु भनेको मानव जीवनमा विविध खालका समस्या र चुनौति टड्कारो रुपमा आउनु हो ।
अतः एउटा पोखरी, कुवा, धारा, पधेरा सुक्नुमा प्रकृतिका अनुपम वरदान मात्र समाप्त हुँदैन, मानव लगायतका प्राणीहरुले पर्यावरणीय सन्तुलन पनि गुमाउने छ । नेपालमा कतिपय धारा कुवा इनार, पोखरी पुजा गर्ने संरक्षण सम्बद्र्धन गर्ने धार्मीक आस्था पनि रहेको र पानी नै जीवन भएको कारण पानीलाई संरक्षण गरी सम्पूर्ण विश्व जगत नै हरियाली बनाउनु अहिलेको समयको अपरिहार्यता रहेको छ ।
लेखक दिपेन्द्र केशर खनाल दैलेख डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ५ नीवासी हुनुहुन्छ ।