सुर्खेत — वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय, सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले कार्यालयकै ४ जनाविरुद्व किटानी जाहेरी दिएका छन् । सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पियूषराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिएका हुन ।
लामिछाने वनसम्बन्धी मुद्दामा बिहीबार पक्राउ पर्नुभएको थियो । वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय लामिछानेको वन कार्यालय पु¥याएपछि बिहीबार अपरान्ह मृत्यु भएको थियो । उहाको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै कारबाहीका लागी किटानी जाहेरी दिएका हुन् ।
घटनापछि आफन्तको दबाबमा शुक्रबार त्यही विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्टसहितको टोली वन मन्त्रालयमा छानबिनका लागि समिति गठन गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि मुख्यमन्त्री कार्यालयका सचिव प्रेम आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेको प्रजिअ रिजालले बताउनुभयो ।
छानबिन समितिको प्रतिवेदन र शव परीक्षणको रिपोर्टका आधारमा थप कानुनी प्रक्रिया लैजाने प्रजिअ रिजालको भनाई छ ।
समितिले घटनाको बारेमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।
डिभिजन वन कार्यालयले भने मदन भण्डारी राजमार्गमा निर्माण गर्दा कटान गर्नु पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उहालाई पक्राउ गरेको जनाएको छ ।
सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो । ‘आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा थियो, पछि आरोपित मानिस पनि घरमा भएको सूचना आएपछि कर्मचारीहरुले उहाँलाई पक्राउ गरी ल्याएको हो,’ डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भन्नुभयो । कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाएका छन् ।
किटानी जाहेरी दिइएका सहायक वन अधिकृत वाहेक अन्य ३ जना प्रहरी सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको छ । सहायक वन अधिकृत पनि साँझसम्म प्रहरी सम्पर्कमा आइसक्ने डिवजन वन कार्यालयले जनाएको छ ।
लामिछानेका भाइ रामप्रसादले कुटपिटमा संलग्न कर्मचारीलाई पक्राउ नगरिएसम्म शव नबुझ्ने बताए । फिल्डमा खटिएको कर्मचारीलाई कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म घटनाको मुचुल्कालगायत प्रक्रियामा पनि सहभागी नहुने उनको भनाइ छ ।
आफन्तहरूले आज बिहानैदेखि घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
वनको हिरासतमा मृत्यु प्रकरण: ४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी
वनको हिरासतमा मृत्यु प्रकरण: ४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु