सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम सांसद सञ्जय गौतमले आगामी मंसिरपछि काँग्रेस नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन शाखा सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गौतमले मंसिर ४ गतेपछि काँग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकार स्थिर हुने बताउनुभएको हो ।
देशलाई तिव्र रुपमा अगाडी बढाउन गठबन्धन आवश्यक रहेको बताउँदै उहाले भन्नुभयो, ‘हाम्रो संविधानअनुसार नेपालमा कुनैपनि दलको एकल सरकार बन्ने सम्भावना कम छ, देशमा स्थिर सरकारसँगै विकासलाई तिव्र गतिमा अगाडी बढाउनका लागि पनि गठबन्धन गरेर निर्वाचनमा जान आवश्यक छ ।’
संविधानको रक्षा र कार्यान्वयनका लागि पनि गठबन्धन भएको गौतमको भनाई छ ।
उहाले राजनितिक दलहरु प्रति नागरिकहरुको वृतृष्णा बढ्न थालेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार निर्माणपछि नागरिकका सबै समस्या समाधान गरिने दाबी गर्नुभयो ।
गौतमले काँग्रेस पार्टीभित्र केही असमझदारीहरु रहेको भन्दै लोकतान्त्रिक मुल्य मान्यता बोकेको पार्टीमा प्रतिस्पर्धा र असमझदारी हुनु स्वभाविक रहेको बताउनुभयो ।
सुर्खेतको सन्दर्भमा पनि विगतका तितामिठा अनुभवलाई आत्मसाथ गर्दै एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा उहाको जोड छ । उहाले भन्नुभयो, ‘लोकतान्त्रिक मुल्य मान्यता बोकेका पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, केही त्रुटीहरु पनि हुन सक्छन्, त्यसलाई सच्याउँदै अगाडी बढ्नुको विकल्प छैन ।’
उहाले सुर्खेत–तेलपानी हुँदै भुरीगाउँ पुग्ने सडक निर्माण चाँडै हुने भन्दै सडक निर्माणपछि कर्णालीको विकासमा टेवा पुग्ने समेत बताउनुभयो ।
यस्तै, काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीभित्रको नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो, ‘नेतृत्वले सबै नेता कार्यकर्तालाई मिलाएर लिनुपर्ने हुन्छ, हामी जती एकताबद्ध हुन्छौ, त्यती नै हामी बलियो हुन्छौ र हाम्रा एजेण्डा लागु गर्न सक्छौ ।’
नेता गौतम निर्वाचन केन्द्रीत जनताको साथमा काँग्रेस अभियानका लागि सुर्खेत आउनुभएको थियो । उक्त अभियानको समिक्षाका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
