काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका दलहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् ।
कार्यदलका कार्यालय सचिव केशवराज जोशीले आज बिहान ८ बजेदेखि पुनः बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाउन प्रयास भइरहेको बताउनुभयो ।
यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । १९ गते दशैंको टीका र असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै सिट बाँडफाँट टुंगो लगाउने एक नेताले बताउनुभयो ।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कुन–कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।
नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । त्यसैले आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्र बहादुर कार्की हुनुहुन्छ भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ ।
सिट बाँडफाँटको छलफल आज पनि
सिट बाँडफाँटको छलफल आज पनि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
