कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट देशले एक अभिभावक गुमाएको बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले अथक श्रष्टा एवम् अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ । उहाँले सत्यमोहन जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाकासाथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गर्नुभएको छ ।
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शताब्दी पुरुष जोशीको निधनले दुःखी बनाएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा ट्विट गर्दै उहाँले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताउनु भएको छ ।
उहाँले जोशीको परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्नु भएको छ ।
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गीबाट समेत सङ्क्रमित हुनुभएको थियो । गएको ७ गतेदेखि उहाँको उपचार भइरहेको थियो । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
