दैलेख । गाउँमा उमेर नपुग्दै बिवाह हुन्थ्यो । महिनावारी हुँदा महिला तथा किशोरीहरु घरभित्र पस्न पाउन्नथे । समाजमा धार्मिक अन्धविश्वासले जरा गाडेको थियो । बालबालिकाहरु श्रमिकको रुपमा प्रयोग हुन्थे । तर दैलेखको गुराँस गाउँपालिकाको वडा नम्बर ५ मा हिजोआज भने परिवर्तनका संकेतहरु देखिन थालेका छन् ।
गाउँमा रहेको सामाजिक कुरिती अन्त्यका लागि स्थानीय किशोरीहरु सक्रिय बनेका छन । बालबिवाह, छाउपडी कुप्रथा, अन्धविश्वास र बालश्रम अन्त्यका लागि किशोरीहरुले आफ्ना अविभावक र बालबालिकालाई पढाउन थालेका हुन् । विदाको दिनमा किशोरीहरुले बालबालिका र अविभावकलाई विद्यालयमा जम्मा गरेर पढाउने गरेका छन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभद चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगत ‘रोजाई आवाज र प्रतिवद्धता’ कार्यक्रममार्फत किशोरीहरुले गाउँका अभिभावक र बालबालिकालाई जम्मा गरेर सचेतना जगाएका हुन् । उक्त कक्षामा सहभागी भएपछि स्थानीय अभिभावकले उमेर नपुग्दै आफ्ना सन्तानको बिवाह नगर्ने कसम खाएका छन् । यस्तै किशोर किशोरीले पनि परिपक्व उमेर नहुँदासम्म बिवाह नगर्ने प्रतिवद्धता जनाएका छन् । सोसेक नेपालका स्थानीय सहजकर्ता मञ्जु विकले भन्नुभयो, ‘हामीले पाँच महिनासम्म गाउँमा सचेतना कक्षा चलायौँ, ति कक्षामा सबै टोलका अभिभावक र बालबालिका सहभागि थिए । त्यसक्रममा हामीले बालबिवाह गर्दा हुने शारिरीक तथा मानसिक असरबारे जानकारी गरायौँ, कक्षामा सहभागि भएपछि गाउँलेले बालविवाह रोक्ने बाचा गरेका छन् ।’

‘रोजाई आवाज र प्रतिवद्धता’ कार्यक्रम अन्तरगत सचेतना कक्षामा सहभागी अभिभाक र बालबालिका । फोटोः मञ्जु विक
यस्तै अर्का सहजकर्ता भावना भण्डारीका अनुसार हिजोआज स्थानीयले महिनावारीसमेत बार्न छाडेका छन् । ‘गाउँमा महिनावारी हुँदा बार्ने चलन थियो’ उहाँले भन्नुभयो, ‘महिला र किशोरीले महिनावारी हुँदा घरभित्र पस्नै पाउँन्नथे, तर हामीले सबै अभिभावकलाई यसबारे कक्षामार्फत सचेत गरायौँ । अहिले महिनावारी बार्ने क्रम घटेको छ, यो कक्षाले समाजमा सकारात्मक परिवर्तन देखापर्यो ।’ शनिबार र विदाको दिनमा किशोरीहरुले यो कक्षा संचालन गरेका थिए । स्थानीय विद्यालयमै संचालन भएको कक्षामा गाउँलेको आकर्षण थियो । तर अहिले उक्त कक्षा भने रोकिएको छ । कक्षा रोकिए पनि गाउँमा धेरै परिवर्तन आएको र यसलाई आफुहरुले निरन्तरता दिने किशोरीहरु बताउछन् ।
स्थानीय किशोरी कमला भण्डारीले यस्ता कक्षा गाउँमा अझै आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिन संस्थासँग आग्रह गर्नुभयो । कक्षामा बालबालिकालाई पोषिलो खाना खुवाउनुपर्ने, नियमित विद्यालय पठाउनुपर्ने, काममा लगाउन नहुने, घरमा पनि बालमैत्री व्यवहार गर्नुपर्ने र सामाजिक विकृती अन्त्य गर्नुपर्ने विषयमा सचेतिकरण गरिएको थियो । कक्षामा सहभागी भएपछि गुराँस गाउँपालिका वडा नम्बर ५ स्याँलभैरीकी अविभावक खगिसरा नेपालीले आफुहरुको सोच परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पालामा बालबालिकालाई स्कुलभन्दा काममा पठाउँथे, सानैमा काममा लाग्दा पढाइ छुट्थ्यो । तर अहिले आफै कक्षामा सहभागी भएपछि बालश्रममा लगाउन नहुने थाहा भयो, अब हामीले पनि आफ्ना बालबालिकालाई नियमित स्कुल पठाउन थालेका छौं ।’

‘रोजाई आवाज र प्रतिवद्धता’ कार्यक्रम अन्तरगत सचेतना कक्षामा सहभागी बालबालिका । फोटोः मञ्जु विक
स्याँलभैरीकै अभिभावक महेन्द्र योगीले गाउँका बालबालिकाहरु शिक्षित हुँदा आफुहरुमा समेत परिवर्तन आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिका र हामीले सँगै कक्षा लियौँ, यसले एकआपसमा कुरा सुन्न र सिक्न पनि सजिलो भयो । बालबिवाहले परिवार नै विखण्डन हुने समस्या देखिएको थियो, तर अब बालबिवाह हुन नदिन हामी सचेत भएका छांै ।’ योगीले यो कक्षाले गाउँमा धेरै परिवर्तन ल्याएको भन्दै यस्ता कक्षाहरु आगामी दिनमा पनि संचालन गर्न सके सभ्य समाज निर्माण गर्न सकिने बताउनुभयो । सेभद चिल्ड्रेनको सहयोग र गुराँस गाउँपालिकाको समन्वयमा सोसेक नेपालले संचालन गरेको सहयात्रा परियोजना दुइले गाउँपालिकाभर नै बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाका बाल संरक्षण संयोजक निर्मल अधिकारीले ‘रोजाई आवाज र प्रतिवद्धता’ कार्यक्रममार्फत बालअधिकार संरक्षण र सामाजिक रुपान्तरणमा सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सहयात्रा परियोजनामार्फत बालअधिकार सुनिश्चित बनाउन धेरै कामहरु गरिरहेका छौं, जसअन्तर्गत रोजाइ आवाज र प्रतिवद्धता कार्यक्रममार्फत स्थानीय किशोरीहरुलाई परिचालन गरेर बालबालिका र अविभावकलाई सँगै राखेर कक्षा संचालन गर्यौं । यो कक्षाबाट उमेर पुगेर मात्रै बिवाह गर्नुपर्ने रहेछ, घरमा पनि बालमैत्री व्यवहार गर्नुपर्ने रहेछ महिनावारी भएको बेला अन्य बेलाभन्दा धेरै कियर गर्नुपर्ने रहेछ भनेर अभिभावक र बालबालिका सचेत हुनुभएको छ ।’ उहाँले यो कार्यक्रमले आगामी बर्ष पनि निरन्तरता पाउने भन्दै कार्यक्रम संचालन नभएको टोल र समुदाय यो कार्यक्रम लागु हुने अधिकारीले बताउनुभयो ।
