दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर १ निवासी हिमा विक सानै छँदा उहाँका बुवाको मृत्युभयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि हिमालाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैंसी पालेर घरखर्चको जोहो गर्नुभयो । जब हिमा माथिल्लो कक्षामा पढ्न थाल्नुभयो, तब उहाँलाई कामी किताव र पढाइ खर्च अभाव हुनथाल्यो । यतिसम्म की हिमालाई आर्थिक अभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो ।
आर्थिक अभावकै कारण हिमा विद्यालय छोड्ने निर्णयमा पुग्नुभयो । त्यतीबेला हिमा ८ कक्षामा पढ्दै हुनुहुन्थ्यो । उहाँकी आमा तुलसी विक भन्नुहुन्छ, ‘घरमा हामी आमाछोरी मात्रै छौं, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुश्किल छ । विद्यालय पोशाक र किताव किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।’ तर आर्थिक अवस्थाका कारण समस्या पर्नुभएकी हिमाले अहिले छात्रवृत्ति पाउन थाल्नु भएको छ । छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ ।
गुराँस गाउँपालिकामा सेभद चिल्ड्रेनसँगको साझेदारीमा लागु भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’ मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुशी छाएको छ । ‘हामी गरिबको कोही छैनन् भन्ने लाग्थ्यो’ तुलसी भन्नुहुन्छ, ‘छोरीको नाममा गाउँपालिका र सोसेकले २५ हजार रकम जम्मा गरिदिनुभएको रहेछ, त्यही पैसाको व्याजबाट अहिले छोरीको पढाइ खर्च टरेको छ ।’ हिमा अहिले १० कक्षा पढ्दै हुनुहुन्छ ।
हिमा मात्रै होइन, गुराँस गाउँपालिका वडा नम्बर ४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुबै हुनुहुन्न । उहाँहरु अहिले हजुरआमाको संरक्षणमा हुनुहुन्छ । उहाँहरुलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन । अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनौटमा पर्नुभयो । सहकारीमा जम्मा भएको २५÷२५ हजार रकमबाट आउने व्याजले हिजोआज उहाँहरुको पढाइ खर्च जुटेको छ । आर्थिक अभावकै कारण पढाइ पुरा गर्न सकिन्न की भन्ने चिन्ता अहिले हटेको छ ।
प्रेम अहिले १० कक्षामा पढ्नुहुन्छ भने देवीसरा ८ कक्षामा पढ्दै हुनुहुन्छ । उहाँहरु भन्नुहुन्छ, ‘देख्दा सानो रकम लाग्ला, तर यसले हाम्रो पढाइ नियमत भएको छ ।’ आफुहरुको २५ हजार रकम सहकारीमा जम्मा भइरहेको भन्दै उमेरले २० बर्ष पुगेपछि उक्त रकम पाउने प्रेम बताउनुहुन्छ । गुराँस गाउँपालिकाले २०७६ सालमा ल्याएको जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हाल गाउँपालिकाका ८ वटै वडाका सातसय ६७ जना जोखिम तथा असहाय बालबालिका यो कार्यक्रमबाट लाभाम्बित भएका छन् । जसमध्ये तीनसय ८७ बालिका र तीन सय ८० बालक रहेको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिनुभयो ।
बालबिवाह न्यूनीकरणमा सहयोगी
जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम गाउँपालिकाका तत्कालिन अध्यक्ष खेमराज ओलीको पालामा ल्याइएको थियो । उक्त कार्यक्रमबाट दुई वटा उद्देश्य राखिएको ओली बताउहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो कार्यक्रम दुइ वटा उद्देश्य राखेर हामीले ल्याएका थियौं, पहिलो आमाबुवा नभएका, जोखिममा रहेका बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित नहुन भन्ने थियो भने अर्को भने बालबिवाह न्युनिकरण गर्नु थियो ।’
कार्यविधि नै तयार गरेर गाउँपालिकाको तर्फबाट १५ हजार, सेभद चिल्ड्रेन र सोसेक नेपालको सहयात्रा कार्यक्रमबाट १० हजार गरी एउटा बच्चाको नाममा २५ हजार रकम सहकारीमा जम्मा गर्ने गरिएको छ । उक्त रकमबाट आएको व्याज ति बालबालिकाको शिक्षाका लागि दिइने गरिएको छ । बाँकी सावा रकम बालबालिका २० बर्ष भएपछि मात्रै दिइने कार्यविधिमा उल्लेख छ । यदी २० बर्ष नहुँदै उक्त बालक अथवा बालिकाले बिवाह गरेको खण्डमा त्यो रकम नदिइने शर्त राखिएको छ । जसले बालबिवाह न्युनिकरण भएको बताउनुहुन्छ उक्त रकम बचत गर्दै आएको गुराँस कृषि लघुवित्त सहकारीका अध्यक्ष जगत विसी ।
उहाँकाअनुसार बालबालिकाको उक्त रकम सस्तो व्याजदरमा उद्यमीहरुलाई लगानी गर्ने गरिएको छ । अध्यक्ष विसी भन्नुहुन्छ, ‘बालबालिकाको लागि दिइने रकम हाम्रो सहकारीमा जम्मा गरिदिएका छौं, हामी बालबालिकालाई बार्षिक १२ प्रतिशत व्याज दिन्छौं । उक्त रकम विभिन्न उद्यमी गर्नेहरुले ऋण लिनुहुन्छ, एकातिर बालबालिको शिक्षामा पनि पहुँच बढेको छ, भने अर्कोतिर उद्यम गर्नेहरु पनि बढ्नुभएको छ ।’ यो कार्यक्रमले बालबिवाहसमेत न्युनिकरणमा सघाउ पुगेको उहाँको भनाइ छ ।
छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित
छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित
"बालबिवाह न्यूनीकरणमा सहयोग "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
