दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गर्ने निर्वाचन अगाडी नै तयारी थालिएको थियो । तर निर्वाचनका कारण उक्त कार्य रोकिएको थियो । निर्वाचन आचारसहिंताका कारण रोकिएको बालमैत्री वडा घोषणा गर्ने काम निर्वाचन सकिएलगत्तै फेरी शुरु गरियो । घोषणा गर्नुपूर्व नै बालमैत्री वडा हुनको लागि सुचक नपुगेको एकपक्षले बताउँदै आएको थियो । गुराँस गाउँपालिकाका पूर्व अध्यक्ष खेमराज ओलीले गुराँस गाउँपालिकालाई बालमैत्री बनाउने योजना आफ्नो नेतृत्व सरकारले गरेको भन्दै विगतकामा नै वडा नम्बर ६ लाई बालमैत्री घोषणा गरिसकेको प्रतिक्रिया सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उहाले लेख्नुभएको छ, “सबै वडा बालमैत्रि घोषणाको चरणमा कोरोनाका कारण रोकिएका थिए, अहिले बालमैत्रि वडा घोषणा गर्न लागिएको सुन्दा अत्यन्तै खुसि छु । तर बालमैत्रि वडा वा पालिका घोषणा गर्न सुचक पूरा हुनु पर्दछ । पूरा गरिएको सुचक भत्काएर गरिएको घोषणा बालबालिकाको लागि होइन ।”
तर गुराँस गाउँपालिका र पालिकामा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको साझेदार संस्थाले भने बालमैत्री वडा घोषणाका लागि अधिकांस सुचक पुरा भएकोले बालमैत्री वडा घोषणा गर्न सकिने तर्क गर्दै आएको थियो । त्यही अनुरुप मंसिर २९ गते बिहीबारका दिन वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरियो । जब वडा बालमैत्री भएको घोषणा भयो, त्यसपछि शुरु भयो सामाजिक सञ्जालमा टिकाटिप्पणी । कतिले अघिल्लो सरकारले शुरु गरेको बालविकास केन्द्रहरु खारेज गरेर बालबालिकालाई नै शिक्षाबाट वञ्चित हुँदा सरकारले बालमैत्री वडा घोषणा गरेको बताए भने कतिपयले बालमैत्री वडा घोषणाको लागि पर्याप्त तयारी र सुचकहरु पुरा नभएको भन्दै टिप्पणी गरे । वडा सरकारले भने अघिल्लो सरकारले गरेको कामको निरन्तरता दिएको प्रतिक्रिया दियो । वडा अध्यक्ष दिपेन्द्र ओलीले भन्नुभयो, अघिल्लो सरकारले बालमैत्री वडा घोषणाको लागि गरेको कार्यलाई अहिलेको सरकारले निरन्तरता दिएको हो । त्यही अनुरुप हाम्रो वडा बालमैत्री घोषणा भएको छ । अब कार्यान्वयनमा लाग्छौ ।” उहाले यसलाई राजनितिकरण गर्न नहुने बताउँदै सबैको सहकार्यमा जोड दिनुभयो । तर वास्तविक विवाद भने वडा नम्बर ८ को मात्रै होइन ।
केहो त विवाद ?
२०७५ साल पुष १२ गते वडा नम्बर ६ लाई दैलेखको दोश्रो तथा पालिकाको पहिलो बालमैत्री वडा घोषणा गरियो । उक्त घोषणा कार्यक्रममा नै विवाद उत्पन्न भयो । जबकी उक्त वडालाई बालमैत्री बनाउने अन्तिम तयारी गरिएको थियो । त्यतीबेला पनि बालमैत्री हुनको लागि सुचक नपुगेको भन्दै गाउँपालिका, वडा सरकार र साझेदार संस्थाको कामप्रति प्रश्न उठाइयो । प्रश्न उठाउने पात्र हुनुहुन्थ्यो, अहिलेका वहालवाला गाउँपालिका अध्यक्ष टोप बहादुर विसी ।
उहाले सुचक नपुगेको भन्दै मिथ्या सुचकहरु ल्याएर जनतालाई भ्रमित बनाएको भनेर घोषणा समारोहमै आक्रोस पोख्नुभयो । वडा नम्बर ६ का तत्कालिन वडा अध्यक्ष हिम बहादुर ओलीले त्यसको प्रतिवाद गर्दै सार्बजनिक मञ्चबाट नै आफुलाई असफल बनाउने कोषिश भएको बताउनुभयो ।
अहिले यो विवाद वडा नम्बर ८ को बालमैत्री वडा घोषणामा पनि प्रस्तुत भयो । संयोग भन्नुपर्छ त्यतीबेला सुचक नपुगेको बताउनुभएका टोप बहादुर विसी आफैले वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गर्नुभयो ।
त्यही कुरालाई स्मरण गर्दै वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष हिम बहादुर ओलीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सत्यको विजयी भएको बताउनुभएको छ ।
उहाले स्टाटस लेख्दै भन्नुभएको छ, “अरुको काम वा कुरामा कथित प्रतिवाद गरेर केही समय पछि त्यही काममा दत्तचित्त भयर लाग्नु नै सत्य को जित र विचारको स्खलन हो ।”
उहाले मात्रै होइन एमाले निकट युवा संघ नेपालका जिल्ला उपाध्यक्ष सरोज ओलीले पनि विगतमा वडा नम्बर ६ लाई वडा बालमैत्री घोषणा समारोहलाई स्मरण गर्दै प्रश्न गर्नुभएको छ, “बालमैत्री वडा घोषणा गर्नु राम्रो हो गुराँस ८ लाई सुचक पुरा गरेर घोषण गरेको हो भने हार्दिक बधाई तथा धन्यवाद । तर गुराँसको छ नम्बर मा बालमैत्री वडा घोषणा गर्दा बिरोध गरेर भाषण गर्नेहरु आज ८ नम्बर मा प्रमुख अतिथि बनेर बिरोध गरे कि प्रंशासा गरे होलान ?”
गेटले पायो सामाजिक सञ्जालमा चर्चा
बालमैत्री वडा घोषणा समारोहमा तयार गरिएको गेटले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । गेट बनाउनको लागि १० हजार खर्च गरिएको तर गेट झारा टार्ने काम मात्र भएको भन्दै आलोचना गरिएको छ । आयोजकले भने गेट बनाउने बेलाको फोटो हालेर बदनाम बनाउन खोजिएको बताएको छ ।
गेट बनाउन लाग्ने अनुमानित रकम भनेर आयोजकले बताइरहँदा सामाजिक सञ्जालमा भने विरोध गरिएको छ । गेट बनाउने बेलामा तयारी नपुगेको र हतार हतारमा काम गरिएको धेरैको बुझाइ छ । उक्त गेटको लागि लागेको रकम अब भुक्तानी हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी छ ।
नेपाली काँग्रेसको वहिस्कार
गुराँस गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा पालिकाले आफुहरुसँग एकपटक पनि बसेर छलफल नगरेको भन्दै आफुहरु पालिकाका कुनै पनि कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट सहभागिता नजाउने काँग्रेस वडा नम्बर ८ का सभापति भिम बहादुर डागीले बताउनुभयो ।
उहाले बालमैत्री वडा घोषणाको सन्दर्भमा भने सुचकहरु पुरा नभएको र आफुहरुसँग कुनै समन्वय नभकाले बहिस्कार गरिएको प्रतिक्रिया दिनुभयो ।
