सुर्खेत । कर्णाली प्रदेश सभाको दोश्रो कार्यकालको पहिलो बैठक बसेको छ । आज प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठकको कार्यसूचीहरूमध्ये दलका नेता तथा सांसदहरूले दलीय धारण राखेका छन् ।
पहिलो बैठकमा दलीय धारणा राख्ने सबै सांसदहरूले कर्णालीको समृद्धिका लागि प्रदेश सभामा सहभागी दलहरूले सहमति र सहकार्यका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कर्णाली प्रदेश कर्णालीका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली विपक्ष भनेकै रोग, भोक र पछौटेपन भएको बताउनुभयो ।
उहाँले मुलुकको राजनीतिक परिस्थिति जुन बाटोमा गए पनि कर्णालीमा एक भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सभाको दोस्रो कार्यकालमा सदस्यहरूले जनताका लागि काम गरेका छन् भन्ने महसुस गराउनुपर्नेमा जोड दिनुभयो । यस्तै, नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले अहिले पनि कर्णाली प्रदेश सबै सूचकांकमा पछि परेकाले यसलाई सुधार गर्नतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।
अघिल्लो पाँच वर्षको कार्यकालमा कर्णाली प्रदेश सभाले नकारात्मक सूचकांकलाई प्रभावित पार्न नसकेको उहाँले बताउनुभयो । उहाँले स्थापना गरेको प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी सबै अगाडि बढ्न अवश्यक रहेको बताउनुभयो ।
जनताले प्रदेशको एक कार्यकालको अनुभव गरेर अर्को कार्यकालका लागि सांसद चुनेर पठाएको बताउँदै उहाँले आफ्नो र आफ्नो दलको जीतलाई जनताको जितका रूपमा लिएको बताएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रका संसदीय दल नेता राजकुमार शर्माले समृद्ध समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशभित्रका प्रशासनिक समस्या समाधान गर्न संसदबाट भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोषी शाहीले अहिले देखा परेको भ्रष्टाचारको अन्त्य गर्न बलियो कानुन बनाउन दलहरूले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
यस्तै, जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले सांसदहरू नेताप्रतिभन्दा पनि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
उहाँले सहकार्य र सहमतिका साथ अघि बढ्नुपर्ने भन्दै कर्णाली समृद्धिका लागि सहकार्य हुनुपर्ने बताउनुभयो ।
यस्तै, कर्णाली प्रदेश सभाको अर्को बैठक पुस २५ गते दिउँसो १ बजे बस्ने भएको छ ।
कर्णाली प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुको एउटै स्वर, समृद्धिका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड
कर्णाली प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुको एउटै स्वर, समृद्धिका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
