सुर्खेत । मगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडी आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा जानुभयो । मिलनले स्वास्थ्य चेकजाँच गराउनुभयो । आँखा सम्बन्धी समस्या लिएर गएका उहाले त्यसको औषधी पाउनुभएन । औषधी नपाएपछि उहाँ चेकजाँच गराएर घर फर्किनुभयो । स्थानीय स्वास्थ्य संस्थाहरुमा सरकारले दिने सबै प्रकारका औषधी अहिले पनि पाउन समस्या रहेको बताउनुहुन्छ । उहा भन्नुहुन्छ, “एन्टीबायोटिक्स, आँखाको औषधि लगायतका सरकारले निशुल्क प्रदान गर्ने सबै औषधी पाउन सकिन्न । विगतदेखिकै समस्या अहिले पनि कायम छ ।”
नजिकै सरकार आएपछि ग्रामीण क्षेत्रका नागरिकहरुले स्वास्थ्य सेवा सहज पाउने आशा जुन थियो त्यो पुरा नभएको उहाको भनाई छ । “अहिले नजिकै सरकार आएका छन, तर हिमाली जिल्लाहरुमा औषधी नपाइने अवस्था कायमै छ । अस्पताल छन, डाक्टर छैनन, डाक्टर छन औषधी छैन ।”
उहामात्रै होइन कर्णालीका हिमाली जिल्लाका नागरिकहरुको समस्या यस्तै छ । उनिहरुले अहिले पनि सहज रुपले स्वास्थ्य उपचार पाइरहेका छैनन । पालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरुमा औषधि नहुदा बिरामीहरु मर्कामा पर्ने गरेका हुन । सरकारी स्वास्थ्य संस्थामा ७२ प्रकारका औषधीहरु निशुल्क रुपमा पाइन्छ । तर औषधी नै नभएपछि नागरिकहरु किनेर समेत औषधी पाउदैनन ।
स्वास्थ्य संस्थामा स्थानीय सरकारबाट खरिद गरी वितरण गर्ने औषधि हालसम्म खरिद भएको छैन । खत्याड गाउँपालिका अन्र्तगतको गुम्था हेल्थ पोस्टका इन्चार्ज मानबहादुर रोकायले गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा समयमै नआउने समस्या रहेको बताउनुहुन्छ ।
उहा भन्नुहुन्छ, “पहिलेको जस्तो औषधी नपाउने अवस्था त होइन, तथापी गाउँपालिकाले समयमै औषधी खरिद गरि नपठाउँदा औषधी नपाएको नागरिकको गुनासो सहि हो, यसमा सरकारले नै पहल गर्नुपर्छ ।”
भौगोलिक विकता र अन्य प्राविधिक समस्याले गर्दा समयमै स्वास्थ्य संस्थामा औषधी नआउने गरेको भन्दै कहिलेकाँही औषधी अभाव हुने गरेको सुनाउनुभयो ।
हिमाली जिल्लाका स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने बिरामीहरूले सबै प्रकारका औषधी सहजै पाउन सक्ने अवस्था छैन । उहाले भन्नुभयो, “औषधी नपाइने होइन पाइन्छ, तर सरकारले निशुल्क दिने सबै प्रकारका औषधी भने पाउन मुस्किल छ ।”
जाजरकोटका स्वास्थ्य संस्थाहरुमा पनि बिरामीहरूले औषधि नपाएको गुनासो गरेका थिए । छेडागाड नगरपालिका नगर अस्पताल कार्यरत अहेव रामप्रसाद शर्माले भने औषधी खरिद सिस्टमबाट हुने भन्दै पालिकामा बजेट अभावले गर्दा पनि औषधि खरिद हुन नसकेको बताउनुभयो ।
औषधी अभाव भन्दा पनि खरिद प्रक्रियामा ढिलाई भएको हो । उहाले भन्नुभयो, “स्थानीय तहले औषधी खरिद प्रक्रियामा लिएको भएपनि वजेट अभावले समस्या हुँदा औषधी अभाव हुन गएको हो ।”
उहाँका अनूसार सदरमुकाम भन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ ।
कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा अझै पनि बच्चाका लागि पारासिटामोल, एन्टीबाइटिक्स, आँखाको औषधि, जीवनजल लगायतका सरकारले निशुल्क दिने औषधिको अभाव हुने गर्दछ ।
यता, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले भने औषधीको अभाव नरहेको दाबी गरेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम बहादुर केसीले केही जिल्लामा औषधी अभाव भएका भन्ने सुचना आएकाले औषधी पठाउने काम भइरहेको जानकारी दिनुभयो ।
जाजरकोट लगायतका जिल्लामा औषधी अभाव भन्ने सुचना आएको छ । हामीसँग औषधी अभाव छैन । उहाले भन्नुभयो, “औषधी अभाव भएनभएको बारेमा हामीले रिपोटिङ्ग गरिरहेका छौ, ती ठाउँहरुमा औषधी पठाउने प्रवन्ध मिलाउछौ ।”
कर्णालीमा बर्षेनी औषधी अभाव
कर्णालीमा बर्षेनी औषधी अभाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
