सुर्खेत । सुर्खेत वराहाताल गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा गरेका कामहरुको बारेमा जानकारी दिन बैशाख २० गते सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्यो । यसअघि १० वटै वडामा सार्बजनिक सुनुवाई गरिसकेको पालिकाले २० गते गाउँपालिका स्तरिय सार्बजनिक सुनुवाई गर्नेगरी सबै वडाबाट नागरिकहरुलाई सार्बजनिक सुचना जारी गरेर बोलायो । घण्टौ हिडेर नागरिकहरु पालिका सरकारलाई आफ्ना गुनासा र आवश्यकता सुनाउन बड्डीचौर पुगे ।
सार्बजनिक सुनुवाई कार्यक्रमको लागि सबै तयारी पुरा भइसकेर प्रमुख वक्ताको रुपमा गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी कुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापा लगायतका अन्य वक्ताहरु कार्यक्रम स्थलमा बसिसकेका थिए । भने सहजकर्ताले माइक समातेर कार्यक्रम शुरु गर्न थालिसकेका थिए । त्यतीकैमा एउटा टिम कार्यक्रम स्थलमा प्रवेश गर्यो । अनि कार्यक्रम संचालकको हातबाट माइक खोसियो भने टासियोको व्यानर समेत निकालियो । यसपछि कार्यक्रम अवरुद्ध हुन पुग्यो । कार्यक्रम अवरुद्ध गर्ने अरु कोही थिएनन, त्यही पालिकाका निर्वाचित जनप्रतिनिधिहरु थिए । उनिहरुले कार्यपालिकामा भएको विवादलाई लिएर जनतालाई पालिकाको विकास निर्माण, सेवा प्रवाहको विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रम अवरुद्ध गरेका हुन । अवरुद्ध गर्ने जनप्रतिनिधिहरु निर्वाचित केही वडा अध्यक्ष र कार्यपालिका सदस्य थिए । नेकपा एमालेबाट निर्वाचित पाँच जना र नेकपा माओवादी केन्द्रबाट निर्वाचित एकजना गरी ६ जना वडा अध्यक्षले कार्यपालिकामा गरिएको निर्णय नसच्चिएसम्म कार्यक्रम अगाडी बढ्न नदिने बताए । वडा अध्यक्षहरुले कार्यक्रम स्थलमै विवाद गर्न थालेपछि गाउँपालिका अध्यक्ष भण्डारीले कार्यपालिकाको निर्णय र सार्बजनिक सुनुवाई अलग कुरा भएको बताउँदै भन्नुभयो, “तपाईहरुका असहमती केहो ? कार्यपालिकाको बैठकमा छलफल गरौँला, अहिले टाढाटाढाबाट मानिसहरु आउनुभएको छ कार्यक्रम अगाडी बढ्न दिनुहोस् ।” तर वडा अध्यक्षहरुले मानेन, बरु गत चैत २९ गते भएको निर्णय देखाउन र कार्यान्वयन गर्न आग्रह गरिरहे । जनप्रतिनिधिहरुले नै उक्त कार्यक्रम अवरुद्ध गरेपछि घण्टौ हिडेर आएका नागरिकहरु केही नसुनी फिर्ता हुनुप¥यो । केही नागरिकहरुले कार्यपालिकाभित्र नमिलेको कुरालाई लिएर कार्यक्रम रोक्नु गलत भएको प्रतिक्रिया जनाएका छन ।
के थियो विवाद
गाउँपालिकाको स्वास्थ्य क्षेत्र सुधार गर्ने भन्दै गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले स्वास्थ्य शाखा प्रमुखसहित एउटा टिम बनाउनुभयो । स्वास्थ्य शाखा प्रमुख गाउँपालिका अध्यक्षसँग मात्रै हिड्ने गरेको भन्दै स्वास्थ्य शाखा प्रमुख परिवर्तन गर्नुपर्ने कार्यपालिकामा कुरा उठ्यो । एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले बल गरेपछि स्वास्थ्य शाखा प्रमुख परिवर्तनको निर्णय भयो । तर निर्णय अगाडी बढ्न नसकेको वडा नम्बर ७ का वडा अध्यक्ष कुल बहादुर बुच्चाले बताउनुभयो । उहाले भन्नुभयो, “हामीलाई पेलेर लिने नीति लिइएको छ, हामी त्यसको विरोध गर्छौ । कार्यपालिकाको बहुमत सदस्यले गरेको निर्णय च्यात्ने जस्ता कार्यको हामी विरोध गर्छौ । त्यो निर्णय नभएसम्म गाउँपालिकामा हुने कुनैपनि सार्बजनिक कार्यक्रमको हामी वहिस्कार गर्छौ ।” वडा नम्बर १० का वडा अध्यक्ष हरिलाल सलामीले गाउँपालिका नेतृत्व एकलौटी ढङ्गले अगाडी बढेको भन्दै आफुहरुको कार्यक्रम रोक्नु आफुहरुको बाध्यता भएको बताउनुभयो ।
यता, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी पुनले आफुले निर्ण नच्यातेको भन्दै काम गर्न नदिने नियतले विरोध गरिएको बताउनुभयो । “उहाहरुले हामीले ल्याएका कुनै पनि एजेण्डामा सहमती जनाउनुभएको छैन, सधै विरोधमात्र गर्नुहुन्छ ।”
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाले कर्मचारीका विषयमा कुनै निर्णय कार्यपालिकाले नगरेको बताउनुभयो ।
विवाद सार्बजनिक स्थानमा भएपछि जनप्रतिनिधिहरुको छलफल गरि टुङ्गो लगाउन नागरिकहरुले सुझाव दिए । अनि जनप्रतिनिधिहरुको छलफलपछि अब बस्ने कार्यपालिका बैठकबाट सबै विषयमा छलफल गर्ने सहमती भएको वडा नम्बर ५ का अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिनुभयो ।
वडा अध्यक्षहरुको अवरोधले सार्बजनिक सुनुवाई कार्यक्रम स्थगित
वडा अध्यक्षहरुको अवरोधले सार्बजनिक सुनुवाई कार्यक्रम स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
