कर्णाली समृद्धीको आधार जल, जमिन र जडिबुटी भनेर बर्षौदेखि भनिएको छ । यस प्रदेशमा बुहमुल्य जडिबुटी, मनोरम पर्यटकिय क्षेत्रहरु छन भने ठुलो मात्रामा वन क्षेत्र र प्राकृतिक श्रोतहरु छन । यी सबै सम्पदाहरुको परिचालन गरि मनग्य आम्दानी लिन सकिने भएपनि त्यसो हुन सकिरहेको छैन । विशेषगरी यी सबै क्षेत्रहरुसँग जोडिएको मन्त्रालय हो, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय । यो मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ, दैलेख क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद कृष्ण कुमार विसी । विसी मन्त्री भइसकेपछि मन्त्रालयका कामहरुलाई कसरी अगाडी बढाउने योजना बनाउनुभएको छ त ? उहाँका प्राथमिकता के हुन ? लगायतका विषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंशः
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएकोमा सर्बप्रथम तपाईलाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना छ ।
धन्यवाद
मन्त्रालय सम्हालिसकेपछि तपाईंको पहिलो प्रथामिकता के हुन्छ ?
मेरो पहिलो प्रथामिकता भनेको सु–शासन कायम गर्नु हो । किनभने जवसम्म हामी सु–शासन कायम गर्न सक्दैनौँ तबसम्म हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौँ । त्यसैले सु–साशन कायम गर्दै जाने छौ । सँगै मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको जम्मा दुइ हप्ता भएको छ । यो अवधीमा कर्मचारीहरुसँग बसेर जानकारी लिने काम गरेको छु । अब नयाँ बजेटको तयारी पनि भइरहेको छ । भने देश अहिले आर्थिक रुपमा अलि संकटमा रहेको छ । आम्दानीका श्रोत बढाउनेगरी मैले काम गर्ने मेरो प्राथामिकता रहन्छ ।
कर्णालीमा उद्योगहरु खासै संचालन हुन सकेका छैनन, यस्तो अवस्थामा साना तथा मझौला उद्योग संचालन गरि रोजगारी सिर्जना गर्ने के छ योजना ?
मैले केही दिनभित्र उद्योगसँग सम्बन्धित व्यक्तीहरु र उद्योग वाणिज्य संघका प्रतिनिधिहरु लगायतका व्यक्तीहरुसँग बसेर कर्णालीमा संचालन भएका साना तथा मझौला उद्योगहरुको अवस्था के छ ? ति उद्योगहरुलाई चाही कसरी निरन्तरता दिन सक्छौ ? रोजगारीका अवसरहरु कसरी सिर्जना गर्न सकिन्छ ? साना तथा मझौला उद्योगहरु संचालन गरी हाम्रै प्रदेशमा रहेका कच्चा पदार्थहरुको प्रशोधन गरी बाहिर निर्यात गरेर आन्तरिक आम्दानी बढाउनेगरी अब आउने बजेटमा समावेश गर्ने हाम्रो योजना छ । यसको लागि सम्बिन्धित विज्ञहरुसँग बसेर नीति र विधी निर्माण गरिने छ । कर्णालीमा त थुप्रै सम्भावना उद्योग क्षेत्रमा छनी तर त्यसको लागि ठोस नीति बनाउन आवश्यक देखिन्छ । अर्कोतर्फ कर्णालीमा अहिलेसम्म ठुला उद्योगहरु स्थापना हुन सकेका छैनन । पश्चिम सुर्खेतमा रहेको सिमेन्ट उद्योगलाई चाँडै संचालन गर्नको लागि मैले यससँग सम्बन्धित व्यक्तीहरुसँग कुराकानी अगाडी बढाएको छु । यो उद्योग संचालनमा आएको खण्डमा हामी दशौँ हजारलाई रोजगारी दिन सक्छौ । अर्कोतर्फ कर्णालीमा थुप्रै प्राकृतिक सम्पदाहरु रहेका छन । यी सम्पदाहरुलाई हामीले उद्योगहरुमा रुपान्तरण गरि बाहिर पठाउन सक्यौँ भने हामी समृद्ध बन्न सक्छौँ ।
पर्यटन क्षेत्रमा पनि त्यतीकै सम्भावना छ, पर्यटन क्षेत्रमा चाही कसरी काम गर्नुहुन्छ ?
तपाईंले भनेजस्तै कर्णाली पर्यटनको क्षेत्रमा समेत सम्भावना बोकेको ठाउँ हो । यहाँको रारा ताल, से फोक्सोडो तालदेखि मनोरम हिमालसँगै ज्वाला जो बर्षौदेखि बलिरहेको छ, यहाँका मठ मन्दीर ताल तैलैया हेर्न लायक र आनन्दमय ठाउँहरु छन । यी ठाउँहरुको प्रचारसँगै त्यहाँको पूर्वाधार विकास हामीले गर्न सक्यौँ भने प्रसस्त आम्दानी लिन सकिन्छ । मेरो ध्यान पर्यटन क्षेत्रमा समेत रहने छ । हामी केही समयमा नै पर्यटनसँग सम्बन्धित कामहरुलाई अगाडी बढाउनेगरी नीति कार्यक्रम ल्याउने छौँ । सँगै कर्णालीमा धेरै वन सम्पदाहरु रहेका छन, वनसँगभित्र रहेका जडीबुटीहरुको प्रशोधन गर्ने खालका उद्योगहरु संचालन ल्याउन पहल गर्ने हामी योजनामा छौँ । अर्कोतिर अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरसँग हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ । हाम्रा हिमालहरुमा हिउँ पन छोड्यो, पानीका मुहानहरु सुक्न थाले, जलचरहरु संकटमा छन् । त्यसैले यस विषयमा पनि सरोकारवालाहरुसँग बसेर छलफल भएको छ । आगामी नीति कार्यक्रममा यसलाई जोड दिइने छ ।
भनेपछि जलवायु परिवर्तनले पारेको असर सम्बन्धी अब कर्णाली प्रदेशमा पनि एउटा मुद्दा बन्छ ?
होनी । योत एउटा ठुलो समस्या बनिरहेको छ । यसलाई हामीले नजर अन्दाज गरेर अगाडी बढ्न सकेको खण्डमा जलवायु परिवर्तनको असरबाट हामीले ठुलो क्षती भोग्छौँ । त्यसैले यो मुद्दालाई हामीले साझा बनाएर अगाडी बढाउन सक्छौँ ।
यस अघिको सरकारले पर्यटन गुरुयोजना समेत तयार गरेको थियो, यसलाई कसरी अगाडी बढाउनुहुन्छ मन्त्री ज्यु ?
गुरु योजना बनेको छ । गुरु योजनामा समेटिएका जुन कुराहरु छन्, त्यसको कार्यान्वयनको लागि अब नियमवली बनाउन शुरु गरेका छौँ । यस विषयमा मैलेृ हिजो कर्मचारी साथीहरुसँग बसेर छलफल पनि गरिसकेको छ् । र यसअघि भएका कामलाई आधार बनाउँदै र अलपत्र रहेका कामहरुलाई अगाडी बढाउछौँ । पर्यटन प्रवद्र्धन गर्नेगरी बनेको गुरुयोजनालाई सार्थकता दिनेगरी हामी अगाडी बढ्छौँ ।
मुख्यमन्त्री ज्युले आफ्नो कार्यभार सम्हाल्दै वन पैदावरबाट बर्षमा १० हजार व्यक्तीलाई रोजगारी दिने भन्नुभएको छ, तपाईँले सम्हालेको मन्त्रालय मार्फत नै कार्यान्वयन हुने होला यसलाई कसरी अगाडी बढाउने ?
मैले पनि मन्त्रीको कार्यभार सम्हालेपछिको पहिलो निर्णय नै हरित रोजगारी सिर्जना गर्ने भनेर । वनसँग सम्बन्धित रोजगारी सिर्जना गर्नेगरी हामी काम गर्दैछौँ । र सरकारको प्रथामिकता पनि त्यही हो । कर्णालीमा प्रसस्त वन क्षेत्र र वनभित्र रहेका श्रोतहरु छन । तिनको परिचालन गरी रोजगारी सिर्जना गर्नुपर्छ । अर्को कुरा आन्तरिक आम्दानी धेरै गर्ने मन्त्रालय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नै रहेछ । तर यो मन्त्रालयमा अनुदान बजेट भने न्युन देखिन्छ । यो मन्त्रालयले जनताको समग्र कुरा समेट्ने भएकाले यो मन्त्रालयमा बजेट बढाउनुपर्छ भन्ने मलाई लाग्छ ।
अधिकांस मानिसहरु कृषि गर्छन, तर आम्दानी भने राम्रो छैन । कृषिबाट उत्पादनलाई उद्योगसँग कसरी जोडु सकिन्छ ?
अहिले उन्नत जातका कृषि बालि पनि आइरहेका छन । त्यस खालका प्रविधिहरुको विकास पनि भइरहेको छ । रैथाने बालिहरुको उत्पादन बढाउने र त्यसलाई प्रशोधन गरेर अन्तराष्ट्रिय बजारसम्म पुर्याउने योजना हामीले बनाउछौँ । त्यसको लागि कृषि मन्त्रालयसँग पनि समन्वय गरी साझा कार्यक्रम बनाएर लैजाने र कृषि उत्पादनलाई उद्योगमा रुपान्तरण गर्नेगरी अगाडी बढ्नुपर्छ ।
अन्तिममा मन्त्रालयमा रहेका बेथिति कम गर्दै परिणाम देखिने के काम गर्नुहुन्छ ?
मैले शुरुमा तपाईंलाई भने मेरो पहिलो प्राथामिकता भनेकै सु–साशन कायम गर्नु हो । सु–साशन कायम नभएसम्म लक्ष्य प्राप्त हुँदैन । त्यसैले मन्त्रालयमा यसअघि केही बेथिति रहेछन भनेपनि त्यसको करेक्सन गर्ने र आम जनताको अपनत्व हुनेगरी काम अगाडी बढाएर समृद्ध कर्णाली सुखारी कर्णालीको नारालाई सार्थकतामा पुर्याउने सरकारको प्रण छ र त्यसमा हाम्रो मन्त्रालयले पनि काम गर्छ ।