सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहहरुको आन्तरिक आम्दानी न्युन देखिएको छ ।
पालिकाहरुले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत नसकिएको जानकारी दिएका हुन् ।
गाउँपालिकाभन्दा नगरपालिकामा बजेटको आकार ठुलो हुन्छ, तर नगरपालिकाहरुले समेत आफ्नो लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको पाइएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷८० को बजेट कार्यक्रम मार्फत २ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर असारसम्म करिब १ करोड ५० लाख रकम उठ्ने देखिएको नगरपालिका प्रमुख हस्त पुनले भेरी खबरलाई जानकारी दिनुभयो ।
उहाले आन्तरिक आम्दानी बढाउने नगरपालिकाको योजना भएपनि योजनाअनुसारको आम्दानी बढाउन नसकिएको बताउनुभयो ।
दैलेखको दुल्लु नगरपालिकासँग आन्तरिक आम्दानीको श्रोत निकै कम छ । नगरपालिकाभित्र रहेका ८० प्रतिशत जग्गा गुठीको नाममा रहेको छन् भने राजस्व संकलन हुने गिट्टी बालुवा र उद्योगहरु नगरपालिका मातहतमा छैनन ।
जसका कारण ७० लाख मात्रै यो बर्ष आम्दानी गर्ने लक्ष्य राखिएकोमा गत महिनासम्म २४ लाख मात्रै राजस्व संकलन भएको छ । लक्ष्य अनुसार राजस्व उठ्न सक्ने सम्भावना नरहेको नगर प्रमुख भरत रिजालले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “हामीसँग आन्तरिक आम्दानीको श्रोत निकै कम छ, लक्ष्य अनुसारको राजस्व समेत संकलन गर्न सकिएको छैन । तथापी हामी राजस्व बढाउनेगरी काम गर्ने योजनामा छौँ ।”
चालु बर्षको बजेट कार्यान्वयन सम्पन्न भएको भन्दै संघिय सरकारले दिने वित्तिय समानिकरण अन्तरगतको बजेट कटौती हुने भएपछि सम्पन्न भएका योजनाहरुको समेत भुक्तानी दिन नसकिने अवस्था आएको रिजालले बताउनुभयो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भने यो बर्ष २ करोड ५० लाख रकम राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य भेट्टाउने बताएको छ । नगरपालिकाले हालसम्म लक्ष्यको ८८ प्रतिशत राजस्व संकलन गरेको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा हामीले ८८ प्रतिशत राजस्व संकलन गरिसकेका छौँ । उहाले भन्नुभयो, “मलाई लाग्छ असारसम्म हामी लक्ष्य अनुसारको राजस्व संकलन गर्न सक्छौँ ।”
दैलेखको नारायण नगरपालिकाले पनि चालु आर्थिक बर्षमा १ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य राखिएको र लक्ष्य अनुसार राजस्व उठ्ने नगरपालिका उपप्रमुख तप्ता थापाले बताउनुभयो ।
यता, हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले भने लक्ष्य अनुसार राजस्व संकलन नहुने बताएको छ । नगर प्रमुख विष्णु कुमार भावले १ करोड ७० लाख राजस्व संकलन लक्ष्य पालिकाले यो बर्ष राखेकोमा लक्ष्यमा पुग्न नसकिने जानकारी दिनुभयो ।
स्थानीय सरकारले संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँडमार्फत प्राप्त रकम, सशर्त अनुदान, प्रदेशको राजस्व बाँडफाँड, प्रदेश सरकारको अनुदान, विशेष अनुदान र आन्तरिक राजस्व संकलन तथा आन्तरिक ऋण परिचालनमार्फत आम्दानी हुने रकमलाई आधार मानी योजना तथा कार्यक्रमहरू बनाउने गरेका छन । स्थानीय सरकारहरु संघीय सरकारको अनुदानमै आश्रित छ ।
कर्णालीका स्थानीय सरकारहरुको आन्तरिक आम्दानी न्युन
कर्णालीका स्थानीय सरकारहरुको आन्तरिक आम्दानी न्युन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
