काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउनु हुनेछ। २०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।
यो घटनाको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा हुनहुन्छ। गत २ गते सर्वोच्च अदालतले चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो।
अदालतको यस्तो फैसलापछि पनि सरकारले गणतन्त्र दिवसका अवसरमा उहाँलाई आममाफी दिन सिफारिस गरेको हो। चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ भने उहाँका श्रीमति रन्जिता श्रेष्ठ केन्द्रिय सरकारमा मन्त्री हुनुहुन्छ।
