सुर्खेत । सुर्खेत प्रेमविवाह गरेको एक वर्षमै सुर्खेतको सिम्ताकी एक युवतीको रहस्यमय मृत्यु भएको छ । सिम्ता गाउँपालिका—६ राकमकी २१ वर्षीय सन्तोषी लम्सालको भेरीगंगा नगरपालिका—१० छिन्चु बजारको डेरामा गत आइतवार विहान करिव नौ बजे ‘रहस्यमय’ मृत्यु भएको हो । डेराको पंखामा सन्तोषीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सन्तोषीले २०७९ जेठमा सिम्ता गाउँपालिका—६ राकमकै बालकृष्ण चित्रकारसँग प्रेमविवाह गर्नुभएको थियो । सन्तोषीका परिवारले यो आत्मत्या नभइ श्रीमान बालकृष्णले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । सन्तोषीका बुवा डिले सार्कीले प्रेमविवाह गरेपनि केटाले घर नलिइ छिन्चु बजारमै भाडामै राखेको र केटा र घरपक्षले मानसिक तनाव दिइ केटाले हत्या गरेर झुण््याएको आरोप लगाउनुभयो । केटीको घाँटीमा हातका छाप, चोट लागेकोले छोरीले आत्महत्या नगरेको दावी गर्दै उहाँले रहस्य मृत्यु भएको हुँदा छानविनको माग गर्दै केटा पक्षका विरुद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिनुभएको छ ।
पाँच जना विरुद्ध जाहेरी
इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश राईले केटासहित पाँच जना विरुद्ध कर्तव्य ज्यानसहित आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको बताउनुभयो । केटा बालकृष्णसहित उहाँका बाबु हिरामणि सुनार, आमा आशा सुनार, दाजु कमल चित्रकार र भाउजु लक्ष्मी चित्रकारविरुद्ध सोमवार किटानी जाहेरी परेको उहाँले जनाउनुभयो । सन्तोषीका बुवा डिले सार्कीले प्रेमविवाह गरेर १३ महिनासम्म घर नलिनु, घरपरिवारले पनि सार्कीको छोरी भन्दै मानसिक तनाव दिइरहनुजस्ता यातना दिएका कारण पाँच जना विरुद्ध जाहेरी दिएको बताउनुभयो ।
पोष्टमार्टम गर्न नेपालगन्ज
सन्तोषीका परिवारले केटापक्ष विरुद्ध जाहेरी दिएपछि मेहेलकुना अस्पतालम शव पोष्टमार्टमका लागि गएका थिए तर मेहेलुकना अस्पतालले पोष्टमार्टमका लागि नेपालगन्जको भेरी अस्पताल पठाइदिएको छ । घाँटीमा देखिएको दागलगायतको विज्ञता हासिल गरेको डाक्टर नभएको कारण देखाउँदै अस्पतालले सोमवार बेलुका सन्तोषीको शव पोष्टमार्टम गर्न नेपालगन्ज पठाएको थियो । सोमवार अपरान्ह ६ बजेतिर शव नेपालगन्ज लगिएको छ ।
श्रीमान प्रहरी नियन्त्रणमा
प्रहरीले घटना भएकै दिन आइतवार बेलुका नै श्रीमान बालकृष्णलाई पक्राउ गरेर हिरासतमा राखेको छ । बालकृष्ण भेरीगंगा नगरपालिकामा सह लेखापाल पदमा कार्यरत हुनुहुन्छ । इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश राईले श्रीमानलाई पक्राउ गरिसकिएको र जाहेरीमा परेकाहरुलाई पनि प्रहरीले नियन्त्रणमा ल्याएर अनुसन्धान गर्ने जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
