सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दा कर्णाली प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी एमालेले दिएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले गत असार १ गते संसद्मा पेश गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा बुधबार शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म सभालाई अगाडि बढ्न नदिने बताउनुभयो ।
‘बजेट निर्माणका क्रममा अर्थमन्त्रीले कसैको प्रभावमा पर्दिनँ भनेर भन्नु भएको थियो तर उहाँले बजेट निर्माणका क्रममा मुख्यमन्त्री र योजना आयोगबाट दबाव आयो भनेर पत्रकार सम्मेलन गर्नुभयो’, पछाईले भने, ‘मुख्यमन्त्री र योजना आयोगबाट तपाईंलाई कस्तो दबाव आयो संसद्मा एमाले जवाफ चाहन्छ।’
अर्थमन्त्री सिंहले बजेट निर्माणमा योजना आयोगबाट दबाव आएको अभिव्यक्ति दिएको सन्दर्भमा सचेतक पछाईले भने, ‘संसद्मा कुनै दबाव आएको छैन भन्ने अनि योजना आयोगले कर्मचारीलाई कारबाही गर्ने, ती कुन कर्मचारी हुन् ? तिनले के दबाव दिएका हुन् ? संसद्मा जवाफ चाहियो।’
मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री सिंहले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरूमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरीत टुक्रे योजना बाँडेको, स्पष्ट हुने गरी रातो किताब नल्याएको लगायतका आरोप एमालेले लगाएको छ।
एमालेद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध
एमालेद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
