सुर्खेत । सुर्खेतका स्थानीय सरकारहरुले कृषि केन्द्रीत नीति कार्यक्रम र बजेट ल्याएका छन् ।
आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि सार्बजनिक नीति कार्यक्रम र बजेटमा कृषि र पशुपालन क्षेत्रलाई प्रमुखता साथ राखिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाले कृषि भूमिको खण्डीकरण रोक्न तथा खेतीयोग्य जग्गा बाँझो रहन नदिन “जमिन बाँझो नराखौँ, सक्नेलाईखेती गर्न दिऊँ“ भन्ने नारा तय गरि बाँझो जमिन उपयोगमा जोड दिएको छ ।
जसका लागि बाँझो वा बगर जग्गामा खेती कार्यको लागि नीतिगत र आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन तथा जग्गा भाडामा लीई खेती गर्ने कृषकलाई जग्गा भाडामा अनुदान प्रदान गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी “उत्पादन र बजारिकरण अभियान वर्ष“ को रुपमा सञ्चालन गरिने नीति नगरपालिकाले लिएको छ ।
पौष्टिक खाद्यान्न उपलब्ध गराउने उदेश्यका साथ खाद्य सुरक्षा, आयआर्जन, रोजगारी तथा गरीव न्यूनीकरणका लागी साना सिंचाई कार्यक्रममा जोड दिई सिंचित क्षेत्रफल बढाउने लक्ष्य नगरपालिकाले लिएको छ । वीरेन्द्रनगर नगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा एक करोड ६० लाख रकम बिनियोजन गरेको छ ।
यता, “प्रविधिको उपयोग कृषिमा सहयोग“ भन्ने नारा सहित गुर्भाकोट नगरपालिकाले कृषि तथा पशुपालनमा यान्त्रिकरणका लागि किसानको लगानीमा लागत सहभागिता गर्न ५० प्रतिशत अनुदान दिने भएको छ ।
कृषि तथा पशुपालनमा गरिएको लगानीको जोखिमबाट कृषकलाई राहत दिन कृषि तथा पशु विमा प्रोत्साहित गर्नका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।
कृषि तथा पशुजन्य व्यवसायलाई प्रमुख उत्पादन एवं रोजगार उन्मुख बनाई आर्थिक समृद्धिको मुख्य आधार क्षेत्रको रुपमा विकास गर्ने नीति नगरपालिकाले लिएको छ ।
गुर्भाकोटले पनि स्थानीय जातको रैथाने बालीको उत्पादन बढाउन विशेष प्रोत्साहनको कार्यक्रमहरु ल्याएको छ । गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक बर्षको लागि कृषि र पशुपालन क्षेत्रमा २ करोड ७७ लाख ६५ हजार रकम विनियोजन गरेको छ ।
यता, वराहाताल गाउँपालिकाले पनि कृषि क्षेत्रलाई प्रथामिकता दिएको छ । कृषि क्षेत्रबाट सृजना हुने रोजगारीको दर बढाउन विदेशबाट फर्कीएका युवाहरुलाई कृषिमा आकर्षित गर्न विशेष अनुदान कार्यक्रम संचालन गर्ने नीति गाउँपालिकाको छ ।
जलवायु परिवर्तनको असरबाट कृषि क्षेत्रमा पर्ने नकारात्मक प्रभाव कम गर्न जलवायु परिवर्तनले कृषिमा पारेको असरका बारेमा समुदायमा सचेतना फैलाउने नीतिमा उल्लेख छ ।
गाउँपालिकाले बर्षमा ३० कृषकलाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रम ल्याएको छ । वराहाताल गाउँपालिकाले पनि कृषि र पशुपालनमा डेढ करोडभन्दा धेरै बजेट विनियोजन गरेको छ ।
कृषि उपजमा आत्म निर्भर तर्कको अभियान संचालन गरि कृषि तथा पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउदै व्यवसायीकरण गर्ने नीति चिङ्गाड गाउँपालिकाले लिएको छ ।
कृषकलाई उत्पादन लागत, थोक तथा खुद्रा मुल्य विश्वेशण गर्दै विचौलियाबाट उत्पादकमाथि हुने ठगी तथा शोषण नियन्त्रण गर्ने गाउँपालिकाको नीतिमा छ ।
यता, चौकुने गाउँपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उत्पादनको मुल्य श्रृंखलाको विकासलाई थप प्रभावकारी बनाउन बजारीकरणका लागि कृषि बजार प्रणाली सप्टवयर निर्माण गरी कार्यान्वयनमा लैजाने महत्वकांक्षी नीति ल्याएको छ ।
तरकारी उत्पादनको लागि व्यावसायिक, करेसावारी, बगरखेती, करार खेतिका लागि विभिन्न संघ संस्थाको समन्वयमा तालिम, प्रविधि र लगानीको व्यवस्था सहितको नमूना कार्यक्रम संचालन गर्न प्रोत्साहन गर्ने लगायतका कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।
सुर्खेतका अन्य पालिकाले पनि कृषि क्षेत्रलाई महत्व दिएर नीति कार्यक्रम र बजेट ल्याएका छन । तर प्रत्येक बर्ष ल्याइने नीति कार्यक्रम र बजेट कार्यान्वयन नहुने समस्या रहेको बताइन्छ ।
सुर्खेतका स्थानीय तहको नीति कार्यक्रम र बजेटः कृषि क्षेत्रलाई प्राथामिकता
सुर्खेतका स्थानीय तहको नीति कार्यक्रम र बजेटः कृषि क्षेत्रलाई प्राथामिकता
"बजारीकरणको लागि सप्टवेयर निर्माण गरिने "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

