जाजरकोट । पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजना अन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन ।
गत वैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । पुल निर्माण गर्दा पुलमा भएको क्षतिको यकिन भई सडक विभागले उक्त क्षति भएको पुलको सामग्री दिन तयार भइसकेको अवस्था छ ।
पुल निर्माण गर्न बाँकी रहेको सामग्री लिनका लागि निर्माण व्यवसायी (छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का निर्माण व्यवसायी भएको हिम सगरमाथा–खड्का कृष्ण जेभी प्रतिनिधि बुिद्धबहादुर खत्रीले आलटाल गरेको भेरी करिडोर आयोजनाका प्रमुख सुजन अधिकारीले आरोप लगाउनुभयो ।
निर्माण व्यवसायी खत्रीले आफूले अहिलेसम्म काम गरेको भुक्तानी नै नपाएको बताउनुभयो । निर्माण व्यवसायीले बैंक ग्यारेन्टी र बीमाको काम नगर्दा समस्या भएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ । सडक आयोजना र निर्माण व्यवसायीबीचको बिबादले पुल निर्माणमा समस्या हुँदै आएको छ । पुलको सामग्री धनगढी र नेपालगन्जमध्ये एउटा ठाउँमा रहेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताउनुभयो ।
सडक डिभिजन चौरजहारीले उक्त ठेक्का खोलेको थियो । यो आर्थिक वर्षभित्र निर्माण गर्ने भन्दै ठेक्काको थपिएको म्यादसमेत समाप्त भइसकेको छ । भत्किएको बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको थियो । समितको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
प्रतिवेदनबारे आफूलाई जानकारी नभएको आयोजनाका प्रमुख अधिकारीले बताउनुभयो ।
पुलका कारण डोल्पामा सिधा यातायात सेवासमेत बन्द भएको छ । अस्थायीरूपमा पाइप राखेर आवतजावत गर्न बनाएको सामग्रीसमेत भेरी नदीले बगाएको छ । उक्त सामग्री बगाएसँगै सबै सवारीसाधन भेरी नदीको दुवै किनारतर्फ थन्किएका छन् । विसं २०७४ पुस १६ गते रु तीन करोड ८५ लाखको लागतमा काम सुरु भएको थियो । पुलको पहिलो म्याद २०७९ असार १५ गते सकिएको थियो ।
थपिएको म्यादमा समेत पुल निर्माण नहुँदा डोल्पा जाजरकोट र रुकुमपश्चिमको यातायात सेवा प्रभावित भएको छ ।
पुल निर्माणस्थल तल्लुसम्म ५६ किलोमिटर सडक कालोपत्र भइरहेको छ ।
पुल निर्माणमा ढिलाइ
पुल निर्माणमा ढिलाइ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
