सुर्खेत । कर्णाली प्रदेश विद्युत उत्पादन गर्न सकिने पर्याप्त सम्भावना हुँदा हुँदै पनि करिब १ लाख परिवारमा विद्युत पुग्न नसकेको पाइएको छ ।
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका ९८ हजार ८ सय ४४ घरधुरीमा विद्युत पुग्न नसकेको हो ।
प्रदेशमा जम्मा ३ लाख ७१ हजार ६ सय ३८ घरधुरी छन् । जसमा हालसम्म २ लाख ७२ हजार ७ सय ९४ घरधुरी विद्युत पुगेको छ भने बाँकी ९८ हजार ८ सय ४४ घरधुरीमा अझै विद्युतीकरण हुन सकेको छैन ।
विद्युत पुगेका ठाउँमा पनि हरेक दिन लोडसेडिङ खेपिरहनुपर्ने बाध्यता नागरिकहरुलाई रहेको छ । राष्ट्रिय प्रसारण लाइन पनि कर्णालीका सबै जिल्लामा पुग्न सकेको छैन्् ।
विद्युतीकरण भएका घरधुरीहरूमा पनि २ लाख ११ हजार ५३ घरधुरीमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा जडान छ भने ६१ हजार ७ सय ४१ घरधुरीहरूमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र अन्य निकायबाट वैकल्पिक ऊर्जा जडान गरिएको छ । ऊर्जाको हब कर्णाली मानिने कर्णालीमा उर्जा अभाव हुँदा समग्र आर्थिक समृद्धिमा असर परिरहेको विज्ञहरु बताउछन ।
यसैबिच, विभिन्न विद्युत आयोजनाहरु पनि अगाडी बढ्न सकेका छैनन । डोल्पाको जगदुल्लामा बन्ने विद्युत् आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) २०७८ सालमा नै बनाइएपनि काम अगाडी बढ्न सकेको छैन ।
आयोजनाका कार्यकारी निर्देशक सञ्जय सापकोटाले ईआईए प्रक्रिया पूरा भएपछि मात्रै आयोजनाका अन्य काम अघि बढ्ने बताउनुभयो ।
यता, तीन वर्षभित्र डीपीआर तयार गर्नेगरी २०७३ मा सम्झौता गरिएको नलगाड आयोजनाको डीपीआर समेत बन्न सकेको छैन ।
यस्तै दैलेखको नौमुले गाउँपालिकामा चार वटा साना तथा लघु जलविद्युत् आयोजना निर्माण भइरहेका छन । दुई वटा निर्माण सम्पन्न भई विद्युत् उत्पादन गरिएको भएपनि बाँकी दुई वटा निर्माणकै क्रममा छन ।
कर्णाली प्रदेशमा प्रस्तावित सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ ।
एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख सूर्यप्रसाद पाण्डेले बताउनुभयो ।
उता, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको अछाम जिल्लाको सिमानामा निर्माण हुने बेतन कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुट्न सकेको छैन ।
