जाजरकोट । लगातारको वर्षाका कारण जाजरकोट ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन् । खलङ्गा–बारेकोट, खलङ्गा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन बढी सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् ।
हिउँदयाममा जथाभावी खनिएका सडक वर्षायाममा पानी पर्न थालेपछि भत्किएर ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका हुन् ।
सदरमुकामदेखि भेरी करिडोरअन्तर्गत पर्ने डोल्पाको दुनैसम्मको सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा गाडी बदलेर यात्रा गर्नुपरेको यात्रु मोहन शाहीले बताउनुभयो ।
जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको बारेकोट गाउँपालिका–५ का विवेक सिंहले बताउनुभयो ।
उहाका अनुसार आन्तरिक तथा लामो दुरीका लागि सञ्चालन भएका सडकमा पुल निर्माण नभएकाले खोला बढ्दा यातायात सेवा अवरुद्ध भएका हुन् ।
नयाँ खनिएका २८ र पुराना गरी ५६ सडक बन्द भएका सिंहले बताउनुभयो । यातायातका साधन नचल्दा सदरमुकामसम्म आवागमनमा सास्ती हुने गरेको उहाको भनाइ छ ।
निरन्तरको वर्षाले हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज–डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ ।
यसैबिच, लगातार परेको पानीका कारण बारेकोट गाउँपालिका–५ मा रहेको टेलिफोनको टावरमा समस्या आएपछि गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ ।
दुई दिनदेखि यहाँका सर्वसाधाण सञ्चार सेवाबाट वञ्चित भएका वीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोखरबहादुर सिंहले जानकारी दिनुभयो । नेपाल टेलिकम जाजरकोटले टावरमा समस्या आएकाले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको जनाएको छ ।
बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् ।
बाढीले क्षतिग्रस्त बनाएको ६ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताउनुभयो ।
अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ । बिक्री हुने मुख्य गुलरीया हाटबजार हो । जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फक्लबहादुर सत्गौलाले बताउनुभयो ।
१६ करोड ६८ लाख रुपैयाँमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो ।
पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का सङ्घीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दै आउनुभएको छ ।
नयाँ पुल निर्माणको माग राख्दै उनले भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा बस्नुभएको थियो ।
सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिनुभएको थियो ।
जाजरकोट ग्रामीण क्षेत्रका सडक बन्द
जाजरकोट ग्रामीण क्षेत्रका सडक बन्द
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
