सुर्खेत । बुद्धीसरा सलामी सुर्खेत चौकुने वडा नम्बर ७ देखि वीरेन्द्रनगर अस्पताल आउनलाई गुठु आउनुभयो । उहाँ गुठुमा तिनदिनसम्म गाडी नपाएर बस्नुपर्यो । उमेरले एक सय बर्ष पुगी सक्नुभएकी बुद्धीसरा बुढेसकाल लागेसँगै विभिन्न स्वास्थ्य समस्याका कारण महिनाको दुइपटक उपचार गराउन वीरेन्द्रनगर आउनुपर्छ । दुइ महिना अगाडी त उहालाई वीरेन्द्रनगर आउन केही समस्या थिएन । तर पछिल्लो दुइमहिनादेखि भने उहाँ सहझै आउन सक्नुभएको छैन् ।
म अस्तीदेखि सुर्खेत जानको लागि यहाँ बसीरहेको छु । उहाले भन्नुभयो, “यहाँ वस, हाइस आउँदैनन् भन्छन । ट्रयाक्टरमा जाउँला भनेर बस्न खोजेको थिए बुढी मान्छे सक्नुहुन्न भनेर जान दिएनन् । खाने औषधी सकिएको भन्दै उहाले दुखेसो समेत गर्नुभयो । उहाले भन्नुभयो, “खाने औषधी पनि सकियो, तर अस्पताल जान म बुढी मान्छे हिड्न पनि सक्दीन । यहाँ गाडी नआएर तिनदिन भइगो जान सकेको छैन्, गाउँपालिकाले टिप्परमा मान्छे लिने होरे आजदेखि त्यसमै जानुपर्ला अब ।”
उहाले यस अघि चौकुनेमा आइरहेन गाडी नआउनुको कारण आफुले नबुझेको बताउनुहुन्छ ।
उहा मात्रै होइन, चौकुने गाउँपालिकाकै नैनरुपा रामजाली पनि आफ्नो काम लिएर वीरेन्द्रनगर आउनको लागि गाडी पाउनुभएन । गाडी नपाएपछि उहाले एक हप्ता अगाडीदेखि वीरेन्द्रनगर आउने योजना स्थगित गर्दै आउनुभयो । आफ्नो उपचार गर्ने र आफन्तलाई भेट्नुपर्ने उहाको योजना थियो । तर गाडी नपाएपछि आउन सक्नुभएन । उता आफन्तहरु हुनुहुन्छ, भेटघाट पनि गर्ने र आफ्नो उपचार गरौँला भनेको जान सकेको छैन । उहाले भन्नुभयो, “दुइमहिना जती भयो यहाँ गाडी आउन छोडेका छन् । हामीलाई सधै यस्तै दुख चुनाव अगाडी केके गर्छौ भनेका हाम्रा नेताले चुनावपछि चलिरहेका गाडी पनि बन्द गराए, भएका सुविधा पनि नपाउने हामीले कसको के बिगारेका छौ र ?”
अझै सुविधा पाउने आसमा रहेका चौकुने गाउँपालिकाका नागरिक भएको सुविधा पनि हराउँदा चिन्तित र दुखी छन् । अहिलेसम्म त हामी इन्डीया गएरै दिन काट्यौँ । चौकुनेका लाल बहादुर कामीले भन्नुभयो, “अब त विकास राम्रै होला, हाम्रा छोरानातीले हामीजस्तो दुख पाउनु नपर्ला भनेको त पैसा तिरेर सुर्खेत जान पनि नपाउने ? कस्तो अन्याय होला हामीलाई । पहिले आइरहने बसहरु अहिले आउन छोडेपछि चिन्तित छौँ ।”
प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ५० किलोमिटर मात्रै टाढा रहेको चौकुने गाउँपालिकाका नागरिकहरुले विकासमा सधै ठगिनुपरेको छ । २०४८ सालमा सडक पुगेको यो पालिकामा अहिलेसम्म पनि स्तरउन्नती राम्रोसँग हुन नसकेको नागरिकहरुको गुनासो छ । यही सडकलाई देखाएर भोट लिने काम मात्रै भएको छ । स्थानीय ललित बुढा भन्नुहुन्छ । “सडक राम्रो बनाउछु, नागरिकलाई सुखी बनाउछु भनेर धेरै जना नेता बने तर २०४८ सालमा आएको बाटो पिच समेत हुन सकेको छैन, जेनतेन चलेका गाडी पनि आउन नदिएर यहाँका जनतालाई सुविधाबाट वञ्चित बनाइएको ।”
जसोतसो गाडी चलेपछि केही रुपमा सहजता पाएका यहाँका नागरिकहरुले ४२ दिनदेखि सुर्खेतबाट जाने यात्रुवाहक गाडी नजाँदा हैरानी र समस्या बेहोर्न थालेका छन् ।
संयुक्त यातायात व्यवसायि संघले पठाएन गाडी
सुर्खेतमा यातायात सेवा दिँदै आएको संयुक्त यातायात व्यवसायि संघले ४२ दिनदेखि त्यहाँ यातायातका कुनै पनि साधन पठाएको छैन् । यातायात व्यवसायीले सडक बिग्रिएका कारण गाडी सञ्चालन गर्न नसकिने दाबी गरिरहेका छन् । भने गाउँपालिकाले भने त्यहाँ निर्वाधरुपमा सवारी चलिरहेको भएपनि व्यवसायीले सिन्डिकेट लादिरहेको बताएको छ । गाउँपालिका अध्यक्ष खड्क बहादुर विकले यातायात व्यवसायिको सिन्डिकेट लगाइरहेको बताउनुभयो ।
हाम्रा जनताले कति दिन नाकाबन्दी सहने । अध्यक्ष विकले भन्नुभयो, हामीलाई मर्नुभन्दा बहुलाउनु ठिक भन्याजस्तो, चौकुनेका नागरिकहरुले दिएको निर्देशन पालना गर्न बाध्य छौँ अब । यातायात व्यवसायिहरुले ४२ दिनसम्म सवारी साधन आउन नदिएर यहाँका जनताको मानवअधिकार समेत हनन् गरेको बताउनुभयो ।
उहाले चौकुने गाउँपालिकाले अब आफ्नै बस खरिद गर्ने समेत बताउँदै यो बर्ष पौने एक करोड रुपैयाँ छुट्याइएको र नागरिकसँगको साझेदारीमा आफ्नै बस संचालनमा ल्याएर आफ्ना जनतालाई सुविधा दिने उहाले उद्घोष गर्नुभयो ।
यात्रुलाई आवातजावत गर्न टिप्पर संचालन
व्यवसायीले गाडी नचलाएपछि चौकुने गाउँपालिकाले नै टिप्परको व्यवस्था गरेर त्यसैमा यात्रुलाई आवातजावत गराउन थालेको छ ।
सर्वसाधारणहरूलाई ठूलो मर्का परेकाले टिप्परबाट यात्रु बोक्न थालिएको अध्यक्ष विकले बताउनुभयो । गाउँपालिकाले सदरमुकाम वीरेन्द्रनगरसम्म टिप्परबाट यात्रु ओसार–पसार गर्न सुरु गरेको हो ।
अध्यक्षले विकले तत्काल २ वटा टिप्पर संचालनमा ल्याएर यात्रुहरुलाई आवातजावात गराउने र केही समयपछि आफ्नै वस संचालनमा ल्याइने जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षले माफी नमागेसम्म गाडी चलाउँदैनौँः यातायात व्यवसायी
कर्णाली प्रदेश संयुक्त यातायात व्यवसायी संघका संयोजक नारायण चपाई चौकुने गाउँपालिकाको लगामसम्म गाडी सञ्चालन हुन नसक्नुको मुख्य कारण सडक राम्रो नभएका कारण भएको बताउनुभएको छ ।
सडक मर्मत गर्नुपर्ने भन्दै उहाले सडक राम्रो भएपछि मात्रै सवारी संचालनमा आउने निर्णय भएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष खड्क विकले सार्वजनिक रूपमा यातायात व्यवसायीमाथि दलाल, भ्रष्ट र लुटेराको आरोप लगाएको भन्दै उहाले उक्त आरोप दुई दिनभित्र माफी नमागेसम्म बड्डिचौरभन्दा अगाडि गाडी नपठाउने उहाको भनाई छ ।
यस विषयमा चौकुने गाउँपालिका, यातायात व्यवस्था कार्यालय र यातायात व्यवसायीलाई राखेर आइतबार छलफल गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
व्यवसायीले जान सकिन्न भनेको अवस्थामा आफूहरूले जबर्जस्ती पठाउन नमिल्ने जवाफ भन्दै गाउँपालिका र यातायात व्यवसायीबिच छलफल गराएर विवाद समाधान गरिने बताउनुभयो ।
यातायात व्यवसायिहरुको ज्यादतीविरुद्ध टिप्पर सेवा संचालनमा ल्याएका छौ, अब आफ्नै वस किनेर सेवा दिन्छौः अध्यक्ष विक
यातायात व्यवसायिहरुको ज्यादतीविरुद्ध टिप्पर सेवा संचालनमा ल्याएका छौ, अब आफ्नै वस किनेर सेवा दिन्छौः अध्यक्ष विक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
