सुर्खेत । कर्णालीमा हवाई उडान नियमित गर्न माग गर्दै कर्णाली प्रदेश सरकारले नेपाल नागरिक उड्यन प्राधिकरणलाई पत्र पठाएको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्राधिकरणलाई पत्र लेख्दै कर्णालीमा नियमित उडान गरिदिन आग्रह गरेको हो ।
प्रदेश सरकारले प्राधिकरणले गरेको उक्त निर्णय पुर्नविचार गर्न आग्रह गरेको हो । मन्त्रालयका सचिव डा.विनोदप्रसाद देवकोटाले कर्णाली प्रदेशका जिल्लामा मौषमको अनुकूलता हेरी हवाई उडान सञ्चालन नियमित गर्न प्राधिकरणलाई आग्रह गरेको बताउनुभयो ।
नेपाल नागरिक उड्यन प्राधिकरणले कर्णालीका पाँच वटा विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय गरेपछि हिमाली जिल्लामा हवाईसेवा प्रभावित भएको छ । जसका कारण ती जिल्लामा हुने दुर्घटनाका घाइते, बिरामी र गर्भवतीको उद्धारमा समस्या भएको छ ।
सडकको सहज पहुँच नभएका हुम्ला, डोल्पा र मुगुका सर्वसाधारणले हवाइ सेवा उपभोग गर्न पाएका छैनन् ।
साउन १२ गते प्राधिकरणले हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै विशेषगरी दुर्गमका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यवसायिक÷चार्टर उडान गर्न नपाइने नियम लागू गरेको थियो ।
कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी दुर्गम जिल्लामा भरपर्दो सडक सञ्जाल छैन् । वर्षातको समयमा सडक अवरुद्ध भइरहने तथा यातायातको प्रमुख साधन हवाई उडान मात्रै हो ।
प्राधिकरणको उक्त निर्णयले कर्णालीमा अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह, प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार प्रभावित भएको छ ।
प्राधिकरणले गरेको निर्णयविरुद्ध नेकपा एमालेले मंगलवारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको थियो ।
नागरिकलाई सास्ती भएको र उपचारको अभावमा घाइते तथा बिरामीको मृत्यु हुन थालेको भन्दै एमालेले तत्काल यो निर्णय खारेज गर्न माग गरेको छ ।
नागरिक उड्यन प्राधिकरणले गरेको उक्त निर्णय खारेज नगरेसम्म कर्णालीमा संसद चल्न नदिने एमालेले जनाएको छ ।
हवाई उडान नियमित गरिदिन कर्णाली प्रदेश सरकारको माग
हवाई उडान नियमित गरिदिन कर्णाली प्रदेश सरकारको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
