सुर्खेत । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने निर्णय अनुसार सार्बजनिक विदा दिइएको बताएको छ ।
किन भएको थियो आन्दोलन
२०७२ साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गर्नुभएको थियो । तत्कालीन सरकारले मृतकलाई शहीद घोषणा गर्नुका साथै अलग प्रदेश स्थापना गर्ने निर्णय गरेको थियो । कर्णालीमा यही दिनको सम्झनामा प्रदेश स्थापना दिवस मनाउने गरिन्छ ।
प्रदेश स्थापना र शहिद दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरको खुल्ला मञ्चमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
नयाँ संविधानको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका बेला प्रमुख दलका नेताहरु सम्मिलित विशेष समितिले २०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्र असहमति जनाउँदै आन्दोलित भएका थिए । त्यतिबेला सुदूरका नौ तथा मध्यपश्चिमका १० जिल्ला (रुकुम आधा) समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । बेग्लै र स्वायत्त प्रदेशको माग राखी १३ दिनसम्म चलेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सुर्खेतमा तीन र जुम्लामा एक जनाले ज्यान गुमाए, थुप्रै सर्वसाधारण घाइते भएका थिए ।
भेरी–कर्णाली क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्न थालेपछि भदौ ४ गते प्रमुख राजनीतिक दल प्रस्तावित ६ प्रदेशको सीमाङ्कन पुनरवलोकन गर्न बाध्य भएका थिए । अन्ततः सात प्रदेशसहितको सङ्घीय संरचना निर्माण गर्ने समझदारीअनुरुप साविक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम भाग) समेटेर कर्णाली प्रदेश’ स्थापना गरिएको हो ।
कर्णालीमा प्रदेश स्थापना तथा शहीद दिवस विशेष कार्यक्रमको आयोजना गरि मनाईँदै
कर्णालीमा प्रदेश स्थापना तथा शहीद दिवस विशेष कार्यक्रमको आयोजना गरि मनाईँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
