सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश प्राकृतिक सम्पदाको खानी भएको र यो देशको समृद्धिको आधार बन्ने बताउनुभएको छ ।
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सोमबार आज सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धिको आधार कर्णाली हुने बताउनुभएको हो ।
कर्णालीको जल, जंगल, जडिबुटी, पर्यटनलगायतका प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्न सकिए मुलुकको आर्थिक समृद्धिको जग कर्णाली बन्ने बताउनुभयो ।
उहाले भन्नुभयो,’ “कर्णालीमा अपार प्राकृतिक श्रोत र साधान छन् । यसको सदुपयोगका लागि कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको अभियानमा संघीय सरकार साथ र सहयोगका लागि प्रतिबद्ध छ ।”
उहाले संघीय सरकार मुलुकको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि कुनै कसुर बाँकी नराख्ने गरी काम गरिरहेको दाबी गर्नुभयो ।
“कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट म उत्साहित छु । साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्दछ । कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु। कर्णाली एउटा सभ्यता हो ।
यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ,’प्रधानमन्त्री दाहालले भन्नुभयो, ’बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ ।
कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
कार्यक्रममा कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाउने सहिद यामबहादुर बिसी, गोपालसिंह रजवार, टिकाराम गौतम र हरिबहादुर कुवरलाई सम्झिदै नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा बलिदानी गर्ने सबै सहिदलाई सम्मान व्यक्त गरेका थिए ।
उहाले आफू तत्कालै चीन भ्रमणमा जाने भएकाले चीन सरकारसँगको साझोदारीमा कर्णालीको विकास र समृद्धिका लागि ठोस पहल गर्ने जिकिर गर्नुभयो ।
चीनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन माग
सुर्खेत उद्योग वाणिज्य संघले चीनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ ।
कोरोना महामारीको समयमा बन्द भएका उत्तरी नाकाहरु अझै खुलेका छैनन् । उद्योग वाणिज्य संघले चीनसँग जोडिएका मुगुको नाम्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्नका लागि पहल गरिदिन आग्रह गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड सुर्खेत आएको अवसरमा वाणिज्य संघले १९ बुँदे मागपत्र बुझाएको छ ।
उद्योग वाणिज्य संघले चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युतलगायतका पूर्वाधार एवं संरचना बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै प्रदेशका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै सुर्खेतमा प्रादेशिक प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग पनि राखिएका छ ।
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजन, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन बजेट व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै नलगाडलगायतका अन्य जलविद्युत आयोजना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने पनि उक्त मागपत्रमा उल्लेख छ ।
कर्णाली प्रदेश देश समृद्धिको आधार होः प्रधानमन्त्री प्रचण्ड
कर्णाली प्रदेश देश समृद्धिको आधार होः प्रधानमन्त्री प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
