कालिकोट । कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक वर्षमै खारेज भएको छ। कोरोनाका बेला कोभिड अस्पताल बनाइएको जिल्लाको एकीकृत भवनलाई कर्णाली प्रदेश सरकारले एक वर्षअघि सरुवा रोग अस्पताल नामकरण गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेटमा सरुवा रोग अस्पतालका बारे प्रदेश सरकार बेखबर भएपछि अस्थायी रूपमा सञ्चालनमा आएको अस्पताल स्वतः खारेज भएको हो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले निर्णय गरेको भन्दै दुई पटक सरुवा रोग अस्पतालको उद्घाटन समेत गर्नुभएको थियो।
आव २०७९/८० मा अस्पतालको नाममा एक करोड बजेटसमेत विनियोजन भएको थियो। स्वास्थ्य सेवा कार्यालय कालीकोटका कर्मचारीले कार्यालयकै कमजोरीकै कारणले अस्पताल खारेज भएको दाबी गरेकाछन्।
सरुवा रोग अस्पतालका लागि नियुक्त गरिएका डाक्टरसहित १८ जना कर्मचारीलाई सरुवा रोग अस्पतालमा कामकाज नगराएर जिल्ला अस्पतालमा खटाइएको थियो। सरुवा रोग अस्पतालका लागि नियुक्त गरिएका स्वास्थ्यकर्मी अन्य अस्पतालमा कामकाजमा खटाएकै कारणले सरुवा रोग अस्पतालमा एक जना पनि बिरामीले सेवा पाएनन्।
आएका बिरामीलाई पनि जिल्ला अस्पतालमा पठाउने काम हुँदा अस्पताल खारेज हुन पुगेको कर्मचारीको भनाइ छ। स्वास्थ्य सेवा कार्यालयका तत्कालीन निमित्त व्यवस्थापक जनस्वास्थ्य अधिकृत कटक महतले अस्पताल स्थापनाका लागि आफूहरू पनि मन्त्रालयमा पुगेको र पुनर्बहालीको माग गरेको बताउनुभयो।